काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।
मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ईपानको १९ र २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताए। उनले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताए ।
प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोग गरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए । उनले ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे ।
‘हामीले किन यो ग्याँसको चुल्हो बाल्नेरु हामीसँग यति विद्युत छ कि हामी व्याट्रीबाट गाडी चलाउन सक्छौँ । बस चलाउन सक्दछौँ । हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ । हामी नेपालभरी नै बिस्तारै बिस्तारै यता जानुपर्छ जस्तो लाग्छ मलाई,’ उनले भने ।
काठमाडौंमा कमसेकम ब्याट्रीबाट गाडीहरु सञ्चालन गर्न उनको आग्रह थियो । ‘घरमा खाना पकाउने इलेक्ट्रिक चुल्हो बनाऔँ । भोलि तराई, मधेश सबै ठाउँमा इलेक्ट्रिक बस चलाउन सक्यौँ भने नेपाल नमुना बन्न सक्दछ’, उनको आग्रह थियो, ‘उद्योगपतिहरुलाई के भन्न चाहन्छु भने, तपाईंहरु सुरु गर्नुस् । सरकारले इन्सेन्टिभ दिन्छ ।’
उनले यसमा काम गर्न आग्रह गर्दै सहुलियत दिन तयार रहेको बताए । उनले भने, ‘तपाईंहरु ब्याट्रीमा जानुस् । नेपाललाई नमूना देश बनाउन सक्यौँ भने हामीले लिडिङ रोल लिन सक्छौँ ।’
कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन् । निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउनको निम्ति उनले आग्रह गरिन् ।
मन्त्री भुसालले नेपालमा विद्युत उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको बताइन् । विद्युत खेरजाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति व्यहोर्नुपरेको उनको भनाइ छ ।
Post Views: 555