विराटनगर ÷ नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समिक्षापछिको पहिलो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक भारी अंकले गिरावट आएको छ ।
आइतबार नेप्से परिसूचक ८०.२९ अंकले घटेर २ हजार ६५१.४९ अंकमा झरेको छ । शेयर लगानीकर्ताले राष्ट्र बैंकले मौद्रिक नीतिले व्यवस्था गरेको ४÷१२ करोडको नीति मौद्रिक नीतिको समिक्षामा संशोधन हुने अपेक्षा गरेका थिए । तर, मौद्रिक नीतिको समिक्षामा ४÷१२ करोडको सीमा संशोधन नभएपछि शेयर बजारमा भारी गिरावट देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर धितो कर्जा ४ करोडदेखि १२ करोडसम्म मात्र लिन पाउने व्यवस्था गरेको थियो ।
आइतबार कारोबारमा आएका २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ बराबारको शेयर कारोबार भएको छ । आइतबार कारोबारमा आएका ६ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । आइसीएफसी फाइनान्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सामलिङ पावर कम्पनीको ८ प्रतिशत, निर्धन उत्थान लघुवित्तको ३ प्रतिशत र नेपाल एसबिआइ बैंकको २ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा हिमालयन पावर पार्टनर र मानुषी लघुवित्तको सेयर मूल्य ८÷८ प्रतिशत घटेको छ ।
Post Views: 272