विराटनगर ÷ झापाको विर्तामोड–५ स्थित सुनगाभा इङ्लिस स्कुलका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् ।
विद्यालयका शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई कुटपिट गरेका हुन् । पढाएको कुरा आफूलाई सोधेको र भन्न नसक्दा शिक्षक पोखरेलले कुटेको पीडित विद्यार्थी तिम्सिनाको आरोप छ । शिक्षक पोखरेलले छडीले खुट्टा, ढाड र गालामा पटकपटक कुटपिट गरेको पीडित विद्यार्थीको भनाइ छ । शिक्षकको कुटाइबाट खुट्टा नीलडाम बसेको छ । विद्यार्थी तिम्सिनालाई शिक्षक पोखरेलले कुटपिट गरेको घटना बाहिरिएपछि अभिभावकसहित स्थानीय विद्यालय पुगेका थिए । अभिभावकसहित स्थानीय विद्यालय पुग्नुअघि नै विद्यालयले शिक्षकलाई त्यहाँबाट भगाइसकेको स्थानीय बताउँछन् ।
विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकले माफी माग्नुपर्ने र त्यसपछि मात्र कानुनी कारबाही अघि बढाउने उनीहरूको भनाइ छ । यता विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले विद्यालयमा उपस्थिति सञ्चारकर्मीलाई भिडियो तथा फोटो नखिच्न आग्रह गरे । उनले शिक्षकले गरेको गल्तीले विद्यालयको नाम लेखेर बदनाम गराउन नमिल्ने उल्लेख गरे ।
Post Views: 2