काठमाडौ । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत निर्वाचनको कार्यक्रम भइरहेको छ। नयाँ नेतृत्व, पदाधिकारी र केन्द्रीय समिति छान्न भोलि सोमबार बिहान ८ बजेदेखि मतदान हुने तय भएको छ।
सभापति पदका लागि ५ जना मैदानमा छन्। गोरखाका युवराज न्यौपानेले शेखर कोइराला समूहलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि मैदानमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि छन्।
कांग्रेसले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा मतदानस्थल तोकेको छ। कागजकै मतपत्र बनाइएको छ भने मत खसाल्ने बाकसका रूपमा पानी ट्यांकीको प्रयोग गरिने भएको छ। मतदाताको रुपमा ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिले २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले करिब एक घन्टासम्म मत खसाल्न समय लाग्ने अनुमान छ। मत खसाल्ने ठाउँ २९ वटा राखिएको छ।
मतदान सकिएलगत्तै मतगणना गरिने तय भएको छ। सबैभन्दा पहिले सभापति पदका लागि मतगणना हुनेछ। सभापतिको मतगणना राष्ट्रिय सभा गृहमै गरिनेछ भने अन्य पदको मतगणना भने पार्टी कार्यालयमै गर्ने गरी व्यवस्था मिलाइएको छ।
उम्मेदवारमध्ये ५० प्रतिशतभन्दा बढी कसैको पनि आएन भने फेरि मतदान प्रक्रिया गर्नुपर्ने हुन्छ। कांग्रेस सभापति पदमा दुई जनाभन्दा बढी उम्मेदवार भएमा ५० प्रतिशतभन्दा बढी मत ल्याउनेले मात्रै सभापति जित्ने व्यवस्था छ।
Post Views: 23