काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापतिको मतगणना बुधबार अर्थात आजैबाट शुरू हुने भएको छ ।
अबको करिब एक घण्टाभित्रमा पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना सुरू गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
उनले आज उपसभापतिको मात्र गणना गर्ने र महामन्त्रीको भोली गर्ने तयारी भएको बताए । आजै राती १० बजेसम्म उपसभापतिको परिणाम आउने भएको छ ।
महामन्त्रीको मत परिणाम आएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गणना हुने उनले जानकारी दिए।
गत सोमबार उपसभापतिलगायत पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान भएको थियो। सबै मतपत्र पार्टी कार्यालय सानेपामा राखिएको छ।
मतगणना सानेपामै हुनेछ। कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्। कांग्रेस विधानअनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुन्छन्।
यसअघि सभापतिमा शेर बहादुर देउवा निर्वाचित भइसकेका छन् । दोस्रो चरणमा भएको चुनावमा उनले डा शेखर कोइरालालाई हराएका हुन् ।
Post Views: 45