विराटनगर । नेपालविरुद्ध स्कटल्यान्डले शुक्रबार विश्वकप लिग २ मा पहिला ब्याटिङ गर्ने भएको छ । नेपालले त्रिवि क्रिकेट मैदानमा टस जितेपछि फिल्डिङ गर्ने निर्णय गरेको हो ।
त्रिकोणात्मक शृंखलामा नेपाल र स्कटल्यान्ड दुवैको यो दोस्रो खेल हो । कुशल भुर्तेलको शतक र कप्तान रोहित पौडेलको ७२ रनमा नेपालले मंगलबार नामिबियामाथि २ विकेटको विजय हात पारेको थियो ।
नामिबियासँगको खेलबाट नेपालले ललित राजवंशीको स्थानमा गुलशन झालाई खेलाएको छ । ललितले नामिबियाविरुद्ध कुनै विकेट लिन सकेका थिएनन् । गुलशन नेपाली टोलीमा तेस्रो फास्ट बलरका रूपमा रहने छन् । उनले फास्ट बलिङमा सोमपाल कामी र करण केसीलाई सघाउने छन् ।
स्कटल्यान्डले बुधबार पहिलो खेलमा नामिबियामाथि १० विकेटका विजय हात पारेको थियो । जर्ज मुन्सीले ६१ बलमा १ सय ३ र कायल कोएटजरले ४६ रन बनाएका थिए । तर यी दुवै ओपनरलाई स्कटल्यान्डले नेपालविरुद्ध खेलाएको छैन । उनीहरूको स्थानमा ज्याक जार्भिस र टम म्याकेन्टसले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दैछन् ।
नामिबियामाथि विजय हात पारी स्कल्टल्यान्डले विश्वकप लिग(२ को उपाधि जितिसकेको छ । नेपाल २५ खेलमा २० अंक जोडी सात राष्ट्र सहभागी लिग २ को अंकतालिकामा छैटौं स्थानमा छ । नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन ११ मध्येको ७ खेल खेल्नु पर्नेछ ।
Post Views: 31