पोखरा, ९ फागुन । कोभिडका कारण लामो समय थला परेको रंगमन्च क्षेत्र विस्तारै पुन: सक्रिय हुनथालेको छ ।
पोखराको पोखरा थिएटर (गन्धर्व नाटक घर) पनि कोभिडपछाडि नाट्य गतिविधिमा सक्रिय रूपमा लागिपरेको छ ।
पोखरा थिएटर अहिले गण्डकी प्रदेश विद्यालयस्तरीय नाटक महोत्सवको तयारीया जुटेको छ ।
गण्डकी प्रदेशभरिका २० वटा विद्यालयले महोत्सवमा भाग लिने आयोजकले जनाएको छ ।
कोभिडको त्रास अहिले पनि पूर्ण रूपमा नहराइसकेको अवस्थामा छ ।
तर, नाट्य क्षेत्रलाई सक्रिय बनाउन भर्चुअल माद्यमबाट महोत्सवको आयोजना गरिएको थिएटरका अध्यक्ष परिवर्तनले बताए ।
उनका अनुसार विद्यालयहरूले नाटकको भिडियो बनाएर पठाउने छन् र पोखरा थिएटरमा भिडियो देखाइने छ ।
विद्यालयस्तरीय नाट्य महोत्सवमा गण्डकी प्रदेशभरिका विद्यालयहरूले चासो देखाएका छन् ।
महोत्सवमा उपलब्ध भएका नाटकका भिडियोहरू चैत्र १४ र १५ गते आयोजक टिमले हेरेर पहिलो दोश्रो र तेश्रो र सान्त्वना छनोट गरी पुरस्कारसमेत वितरण गरिने छ ।
पहिलो पुरस्कार ५० हजार, दोश्रो २५ हजार, तेश्रो १२ हजार ५ सय, र सान्त्वना पुरस्कार ५ हजार राशीको रहेको छ ।