विराटनगर।राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृतिलाई योजनाबद्ध रुपमा कमजोर बनाउन र मास्न खोजिएको बताएका छन्। उनले अब सबै जागेर परम्परा र पहिचान संरक्षणको निम्ति जनसंघर्ष गर्नुपर्नेमा जोड दिएका छन्।
बुधबार पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले योजनाबद्ध र संगठित रुपमा लोभलालच, भ्रम र डर त्रास देखाएर धर्म परिवर्तन गरिएकोमा आक्रोश पोखे।
‘किराँत धर्म अल्पमतमा परेको छ, अब विस्तारै बुद्ध धर्म मान्नेहरू अल्पमतमा पर्ने छन्, यो सामान्य विषय होइन,’ थापाले भने। यही रफ्तारमा धर्म परिवर्तनको डढेलो बढ्दै गएमा संस्कृति र पहिचान नष्ट हुनेतर्फ चिन्ता उनले चिन्ता व्यक्त गरे।
उनले चुप लागेर बसेमा देश दिनप्रतिदिन कमजोर हुने भएकोले नयाँ पुस्ताले प्रतिवाद गर्नुपर्ने बताए।
‘हाम्रो कुनै धर्मप्रति वैमनश्यता, घृणा र अनास्था छैन, सबै धर्मलाई समान मान्यता र अधिकार हुनुपर्छ तर संगठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तनप्रति हाम्रो आपत्ति छ,’ थापाले भने।
अहिले कमजोर रुपमा ओझेलमा परेको जस्तो देखिए पनि राप्रपा नेपाललाई आगामी दिनमा बलियो पार्टी बनाएरै छाड्ने थापाको दृढता थियो।
कार्यक्रममा राप्रपा नेपालका महामन्त्रीद्वय सुशील श्रेष्ठ, राजाराम बर्तौला बागमती प्रदेश अध्यक्ष माधव खत्री, भक्तपुर जिल्ला अध्यक्ष श्यामप्रसाद नेपाल लगायतले राप्रपा नेपाललाई उठाउने र अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
पार्टीको उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान अन्तरगत भक्तपुरको ३८ वडामा फागुन महिनाभित्र पार्टीका वडा कमिटी गठन पुनर्गठन गरिने राप्रपा नेपाल भक्तपुरले जनाएको छ।
Post Views: 1