विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताएका छन् ।
विराटनगर वडा नम्बर ६ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन समारोहमा उनले महानगरका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बताए ।
मेयर कोइरालाले विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा १९ वटै वडामा निःशुल्क आँखा शिविर पनि सञ्चालन भइरहेको जानकारी दिए । रानी प्राथमिक स्वास्थ्य केन्द्र र बैजनाथपुर स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरी महानगरवासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनको भनाइ थियो ।
सबै वडाहरूमा एकीकृत स्वास्थ्य शिविर सञ्चालनसमेत सञ्चालन गरिरहेको उनले बताए । महानगरवासीलाई निःशुल्क रगत सेवासमेत प्रदान गरिरहेको मेयर कोइरालाले जानकारी दिए ।
कार्यक्रममा विराटनगर वडा नम्बर ६ का अध्यक्ष हरिश्चन्द सहनी (अक्षय)ले वडावासीलाई घरआँगनमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए । माघ २० गतेसम्म विशेषज्ञ चिकित्सकबाट वडाका विभिन्न टोलमा शिविर सञ्चालन हुनेछ ।
Post Views: 2