विराटनगर । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरू गरिँदैछ ।
इलाम–२ को मतगणना बिहान ११ बजेबाट हुने भएको छ । राजनीतिक दलका उम्मेदवार र प्रतिनिधिहरू, स्वतन्त्र उम्मेदवार र प्रतिनिधिहरूसहितको सर्वपक्षीय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । मतगणना इलाम सदरमुकामको गौतमबुद्ध सभागृहमा हुनेछ ।
चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि शनिबार नै गणना सुरू नभएको हो ।
इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम २ मा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।
इलाम–२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यसैगरी बझाङमा पनि आजदेखि मतगणना सुरू गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार साइपाल गाउँपालिकाका साइपाल, एराङकुरी र दुलीका मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरू हुने छ । मतगणना जिल्ला अदालतमा हुनेछ ।
बझाङको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मतदान भएको थियो ।
प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ११ जना प्रतिस्पर्धामा छन् ।
Post Views: 23