विराटनगर÷ लायन्स क्लबसँगको सहकार्यमा विराटनगर–३ पुष्पलालचोकस्थित पोलस्टार सेकेण्डरी बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
विराटनगर–१३ मा रहेको हिमाल आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा बालबालिकाको आँखाको जाँच गरिनुका साथै आवश्यताअनुसार औषधि र चस्मासमेत उपलब्ध गराइएको थियो । लकडाउनको समयमा टेलिभिजन हेर्नुका साथै अत्यधिक मात्रामा मोबाइल र ल्यापटप चलाएका कारण विद्यार्थीहरुमा आँखाको समस्या देखिएको विद्यालयका प्रिन्सिपल गोपाल रिजालले बताए । यसरी मोबाइल र ल्यापटप बढी समय चलाउँदा आँखामा हुने समस्या स्वयम् विद्यार्थी र अभिभावकलाई समेत थाहा नहुने गरेको उनको भनाइ थियो । पढाउने क्रममा विद्यार्थीहरुमा आँखाको समस्या देखिन थालेपछि विद्यालयले निःशुल्क आँखा शिविर सञ्चालन गरेको प्रिन्सिपल रिजालले बताए ।
रिजालका अनुसार शिविरमा कक्षा २ देखि १० सम्मका ५ सयभन्दा बढी विद्यार्थीको आँखाको जाँच गरिएको थियो । विद्यालयले यसअघि पनि विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताए । विद्यालयले हरेक वर्ष बालरोग विशेषज्ञ बोलाएर बालबालिकाको स्वास्थ्य जाँच गर्ने गरेको प्रिन्सिपल रिजालले जानकारी दिए । शिविरमा जाँच गरिएका विद्यार्थीको आँखामा धुलो र गर्मीका कारण एलर्जीको समस्या बढी देखिएको हिमाल अस्पतालका आँखा रोग विशेषज्ञ जितनारायण यादवले बताए ।
Post Views: 3