विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने बताएका छन् ।
फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले यस्तो बताएका हुन् ।
उनले विराटनगरवासी सहित देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगति, सुुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घजीवनको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनु आवश्यक रहेको बताएका छन् ।
चाडपर्वका नाममा हुने गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा मेयर कोइरालाको जोड छ । उनले होली पर्वलाई विकृतिरहित र मर्यादित रूपमा मनाउन महानगरवासीलाई आग्रहसमेत गरेका छन् ।
मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रूपमा सम्पन्न बनाएको मेयर कोइरालाले उल्लेख गरेका छन् ।
मेयर कोइरालाको सन्देशमा भनिएको छ, ‘सांस्कृतिक विविधताले भरिपूर्ण नेपाली समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको र हिमाल, पहाड र तराईमा फरक–फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्नसमेत मद्दत गरेको छ । साथै जुनसुकै क्षेत्रमा बस्ने नेपालीलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग पुगोस् ।