काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको छ ।
विभिन्न तीन सय पाँच कम्पनीका एक करोड छ लाख नौ हजार पाँच सय ९७ कित्ता शेयर ८२ हजार सात सय ४६ पटक खरिद-बिक्री हुँदा चार अर्ब ५५ करोड १६ लाख ३२ हजार तीन सय ४७ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह पाँच दशमलव ४४, लघुवित्त समूह पाँच दशमलव ०५ र होटल तथा पर्यटन समूह तीन दशमलव ९३ प्रतिशतले बढेको छ ।
बैंकिङ तीन दशमलव १०, विकास बैंक दुई दशमलव १७, वित्त समूह दुई दशमलव २९, जलविद्युत् शून्य दशमलव ९९, लगानी समूह एक दशमलव ८७ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ३४ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड एक दशमलव ५५, निर्जीवन बीमा तीन दशमलव १५, व्यापार एक दशमलव ६९ र अन्य समूह एक दशमलव ६४ प्रतिशतले बढेको छ ।
साथै पाँचवटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । हिमालयन ८०-२० को शेयर मूल्य सबैभन्दा धेरै दुई दशमलव ५७ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३७ करोड १९ लाख ३३ हजार सात सय ८६ रूपैयाँ बराबरको छ लाख ७३ हजार सात सय छ कित्ता किनबेच भएको छ ।
Post Views: 5