विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले बोलाएपछि सभापति देउवा उनलाई भेट्न बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
भेटवार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अघि बढाउने, संसद्लाई बिजनेस दिनेलगायतका राष्ट्रिय मुद्दाहरूमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । आचार्यका अनुसार राष्ट्रिय मुद्दाहरूमा सबै दल मिलेर अघि बढ्नुपर्ने प्रधानमन्त्री दाहालको प्रस्तावमा देउवा पनि सकारात्मक छन् ।
कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भेटवार्तामा संवैधानिक परिषद् बैठकको विषयमा छलफल भएको बताए । उनका अनुसार चैत १८ गते प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत नाम मुछिएको विषयमा संसद्मा प्रश्न उठाउँदै आएको छ । आजको भेटमा त्यो विषयमा भने छलफल नभएको स्वकीय सचिव देउवाले बताए ।
Post Views: 0