भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीकाे प्राणान्त

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीकाे प्राणान्त

 राष्ट्रिय डेली

काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् ।
नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने तरखरमा थिइन्। एकबिहानै सुलोचनाका देवरले फोन गरे । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित पृथ्वी राजमार्गमा लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनाको खबर सुनेसँगै देवरले बुटवलबाट काठमाडौँ आउँदै गरेका आफ्ना दाई प्रकाश पाठकको खबर सोध्न फोन गरेका  रहेछन् ।
मध्यरातको २ बजे श्रीमानसग फोन सम्पर्क गरेर सुतेकी सुलोचना देवरको फोनसँगै आत्तिइन् । उनले श्रीमानलाई पटकपटक फोन सम्पर्क गर्न खोजिन् तर श्रीमानको फोन लागेन । त्यसपछि तत्काल सुलोचनाका देवर, जेठाजु र आफन्त गजुरी गए । सुलोचनाको भने जाने हिम्मत बनेन । उनी पछि मात्र त्यहाँ पुगिन् । प्रकाश पहिले पनि दुर्घटनामा परेका  थिए ।
सो बस दुर्घटना हुँदा प्रकाशसहित १२ जनाको ज्यान गयो । स्थानीयवासी, आफन्तजन र प्रहरीको अथक प्रयासमा प्रकाशको शव दुर्घटना भएको ३६ घण्टापछि मात्र भेटिएको थियो । त्यो ३६ घण्टा सुलोचनाका लागि ज्यादै पीडादायी बन्यो । ‘प्रकाशको शवमा कुनै चोट लागेको थिएन, समयमा नै शव भेटिएको भए बचाउन सकिन्थ्यो भन्ने लाग्छ, छोराले बाबा कहिल्यै नआउने हो भनेर बेलाबेलामा सोधिरहन्छ,’ सुलोचना भन्छिन् ।
वित्त विषयमा एमफिल पूरा गरेकी सुलोचना विद्यावारिधिको तयारीमा थिइन्। श्रीमानको निधनसँगै उनको उक्त सपनासमेत तत्कालका लागि तुहिएको छ । नेपालको ट्रेड युनियन आन्दोलनमा सक्रिय प्रकाश नेपालमा उत्पादित खाद्यान्न र तरकारीलाई विदेशसम्म लैजाने योजनाका साथ अगाडि बढेका थिए  । उनको निधनसँगै देशले पनि एक होनहार युवा व्यवसायी गुमाएको छ ।
लुम्बिनीबाट चालक दलका सदस्यसहित ५४ यात्रु बोकेर काठमाडौँ आएको लु२ख २१२१ नम्बरको बस सडकबाट अन्दाजी १०० मिटर तल त्रिशूली नदीमा खस्दा १२ जनाले ज्यान गुमाएका छन् भने ४२ जना घाइते भएका छन् ।
उक्त दुर्घटना सडकको दुरावस्थाका कारण भएको प्रहरीले निस्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक गौतमकुमार केसी सडकको जीर्ण अवस्थाका कारण गजुरीमा दुर्घटना भएको बताउँछन् । ‘एकातिर जीर्ण सडक र अर्कातिर क्षमताभन्दा धेरै यात्रु भएको कारण खाल्डोमा गएर बसको टायर ठोकिएको र उफ्रेर अगाडि बढ्न खोज्दा बस पल्टन गएको अनुसन्धानमा देखिएको  छ,’ उनी  भन्छन् ।
यस्तै गत चैत ५ गते सोमबार रुकुम पश्चिमबाट मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस बागलुङमा दुर्घटना हुँदा रुकुमका पत्रकार विक्रम परियारसहित नौ जनाको मृत्यु भयो । पत्रकार परियार दलित पत्रकार सङ्घको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन गाडी चढेर काठमाडौँ आउँदै थिए । दलित पत्रकार सङ्घको महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने सपनाका साथ काठमाडौँ आएका पत्रकार परियारको बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा भएको दुर्घटनामा मृत्यु भयो ।
पत्रकार परियार बुबा रनवीर र आमा रश्मीका कान्छो छोरा थिए । उनका जेठो दाइ अमृत परियार परिवारसँग दाङमा बस्दै आएका छन्  । बुबाको पहिले नै मृत्यु भइसकेकाले आमाको हेरचाह गरेर परियार रुकुममा बस्दै आएका हुन् । दुर्घटनामा विक्रमको मृत्युसँगै आमा रश्मीको साहारा गुमेको छ । बागमती प्रदेशको ०१–००६ ख ३८७९ नम्बरको यात्रुवाहक बस निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा सात जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा निधन भएको थियो ।
बस सडकबाट अन्दाजी एक सय ५० मिटर तल खस्दा भएको दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । घाइतेको हाल बाग्लुङ, पोखरा र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
गत पुस २७ गते बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै भे१ख ३९१२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गयो । राति १० बजेको समयमा दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा ती व्यक्तिहरूले ज्यान गुमाएका थिए । सोही दुर्घटनामा परेर १७ जना घाइते भएका छन् ।
यसैगरी गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उनका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियान्स र छोरी स्मारिकाको ज्यान गयो । उक्त दुर्घटना बाटोको दुरावस्थाका कारण भएको काठमाडौँ प्रहरीले जनाएको छ ।
माथि उल्लेखित दुर्घटना केवल प्रतिनिधिमूलक घटनामात्र हुन् । नेपालमा सवारी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् भने हजारौँ व्यक्तिहरु अङ्गभङ्ग तथा घाइते हुने गरेका छन् । सडक दुर्घटनाबाट गत पाँच वर्षमा ११ हजार तीन सय पाँच जनाले अकालमा ज्यान गुमाएका छन् भने २७ हजार सात सय २६ व्यक्ति गम्भीर घाइते भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुर्घटनाका कारण नेपालमा एक हजार तीन सय तीन जनाले अकालमा ज्यान गुमाएका छन् । यसमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेको छ । मधेस प्रदेशमा मात्र साउनदेखि माघ मसान्तसम्म दुई सय ९० जनाले ज्यान गुमाएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल बताउँछन् ।
यस्तै, लुम्बिनी प्रदेशमा दुई सय ६१, कोशी प्रदेशमा दुई सय १९, बागमती प्रदेशमा एक सय ७३, सुदूरपश्चिम प्रदेशमा एक सय चार, गण्डकी प्रदेशमा एक सय, काठमाडौँ उपत्यकामा ९६ र कर्णाली प्रदेशमा ६० जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । सोही अवधिमा २३ हजार पाँच दुर्घटना भएका छन् । दुर्घटना भएकामध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ११ हजार छ सय १९, मधेस प्रदेशमा पाँच हजार ८०, कोशी प्रदेशमा दुई हजार आठ सय ३०, बागमती प्रदेशमा एक हजार दुई सय २१, लुम्बिनी प्रदेशमा नौ सय २९, कर्णाली प्रदेशमा आठ सय छ, गण्डकी प्रदेशमा दुई सय ९२ र सुदूरपश्चिम प्रदेशमा दुई सय २८ दुर्घटना भएको प्रहरी प्रवक्ता ढकाल बताउँछन्।
चालु आवको साउनदेखि माघ मसान्तसम्म सवारी दुर्घटनाबाट तीन हजार छ सय ४३ यात्रु गम्भीर घाइते भएका छन् भने १५ हजार सात जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आव २०७६/७७ मा दुई हजार दुई सय ५१, आव २०७७/७८ मा दुई हजार पाँच सय, आव २०७८/७९ मा दुई हजार आठ सय ८३ र आव २०७९/८० मा दुई हजार तीन सय ६८ ले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । यस्तै आव २०७६/७७ मा चार हजार छ सय १५, आव २०७७/७८ मा छ हजार चार सय ४८, आव २०७८/७९ मा सात हजार दुई सय ८२ र आव २०७९/८० मा पाँच हजार सात सय ३८ जना सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका छन् ।
उपत्यकामा मात्र सवारी दुर्घटनाबाट एक सय १७ को मृत्यु
सवारी दुर्घटनाबाट देशभर हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदा काठमाडौँ उपत्यकामा मात्र एक सय १७ जनाले ज्यान गुमाएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले दिएको जानकारीअनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा भएका विभिन्न दुर्घटनामा परेर एक सय १७ जनाले अकालमा ज्यान गुमाएका हुन् ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ उपत्यकामा चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् । ‘साँघुरो सडकमा चालकले लापरवाही गरेर सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको देखिन्छ,’ उनी भन्छन् । । कार्यालयका अनुसार चालु आवमा चालकको लापरवाहीबाट चार हजार तीन सय ४५, तीव्रगतिका कारण एक हजार नौ सय ४८, मादक पदार्थ सेवनका कारण चार सय ७५, यान्त्रिक गडबढीका कारण ६४, ओभरटेकका कारण ७६, सडकको अवस्थाका कारण १३ र अन्य कारण ९७ दुर्घटना भएका छन् ।
सडक दुर्घटनाका मुख्य कारण
सडक सञ्जाल थपिएसँगै नेपालमा पछिल्लो समय सवारी दुर्घटनासमेत बढ्दै गएको छ । सवारी दुर्घटना र यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ‘यातायात सुधार सुझाव कार्यदल’ गठन गरेको थियो ।
उक्त कार्यदलले एक वर्ष लगाएर यातायात क्षेत्रको सुधारका लागि अध्ययन गरेर गत माघमा सरकारसमक्ष प्रतिवेदनसमेत बुझाइसकेको छ । उक्त प्रतिवेदनले सडक दुर्घटनाका प्रमुख कारण पाँचवटा रहेको बताएको छ । सडक दुर्घटनाका कारणमा मानवीय कारण, सवारीसाधनको अवस्था, सडकको अवस्था, सडक प्रयोगकर्ता र मौसमको कारण रहेको बताइएको छ ।
नेपालमा हुने सवारी दुर्घटनाका कारणमध्ये सवारी चालकको कारण ८८ दशमलव ३५ प्रतिशत दुर्घटना हुने गरेको छ । यस्तै सवारीसाधनको कारण दुई दशमलव ५९ प्रतिशत, यात्रुको कारण चार दशमलव २० प्रतिशत, सडकको अवस्थाका कारण चार दशमलव १२ प्रतिशत र मौसमका कारण शून्य दशमलव ७४ प्रतिशत दुर्घटना हुने गरेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सवारी चालकको शारिरीक र मानसिक अवस्था, ट्राफिक नियमको पालना गर्ने प्रवृत्ति र चालकको दक्षता र सीप दुर्घटनासँग प्रत्यक्ष सम्बन्धित रहने बताउछन् । ‘दक्ष र सीपालु चालक अनुशासित भएर सवारी चलाउँदा दुर्घटनामा कमी आउँछ,’ उनी भन्छन् । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु दुर्घटना न्यूनीकरणका लागि सरकारले पूर्वसचिव धनबहादुर तामाङको संयोजकत्वमा ‘सडक दुर्घटना अध्ययन कार्यदल’ गठन गरेर अध्ययन गरिरहेको बताउँछन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट गत पुस २९ गते गठन भएको उक्त कार्यदलमा सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरीलगायत सरोकारवाला निकाय सदस्य छन् । उक्त कार्यदलले विगत एक–दुई महिनाभित्र नेपालका विभिन्न भागमा भएका दुर्घटनालाई विस्तृत अध्ययन गरेर अध्ययनको प्रतिवेदन र दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुझाव सरकारलाई बुझाउनेछ ।

adv-single
सम्बन्धित समाचार

७२ को विस्मयलाई यसरी सम्झियो गिरी फाउन्डेसनले

विराटनगर । नेपालमा गएको दोस्रो ठूलो महाभूकम्पको स्मरणमा विराटनगरस्थित गिरी फाउन्डेशनले श्रद्धाजञ्ली सभा आयोजना गरेको छ । २०७२ को भूकम्पीय विस्मयको स्मरणमा फाउन्डेशनले सो कार्यक्रम आयोजना गरेको हो । विराटनगरको देवकोटा चोकमा आयोजित कार्यक्रममा फाउन्डेशनका...

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...