विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै १९ जना व्यक्ति र २ वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १९ जना र २ वटा कम्पनीविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरूषोत्तम प्रसाद खनाल, निर्देशक/वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक/निर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोदचन्द्र श्रेष्ठविरूद्ध मुद्दा दायर भएको हो ।
त्यस्तै निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक/उपनिर्देशक रेवतीराम पन्थ, सहायक निर्देशक/उपनिर्देशक सन्दीप अधिकारी, सहायक निर्देशक/उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतीक्षा पौडेल र सहायक निर्देशक निराजन कोइरालाविरूद्ध मुद्दा दायर भएको हो ।
एमडीएमएस परामर्श सेवा खरिदको वार्तामा कम्पनीतर्फ संलग्न दातुक मोहम्मद नुर अमिन, दातुक मोहम्मद शिहाब, अनुज सिंह, जमिल अहमद र कवीन्द्र राज मल्लविरूद्ध मुद्दा परेको छ ।
आयोगले प्रतिवादीहरूविरूद्ध विशेष अदालतमा ९१ करोड ९८ लाख ३० हजार ८८२ रूपैयाँ बराबरको बिगो दाबी गरेको छ ।
यस्तै नुइमिरा नामको दुईवटा कम्पनीविरूद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।
Post Views: 0