पाख्रिबास नगरपालिका – ४ धनकुटाका रोशन परियारले छोटो समयमा एक शसक्त कविको परिचय बनाएका छन् । ‘सियोको दुरविन’ कविता सङ्ग्रह प्रकाशन गरिसकेका परियार पाख्रिबास कला साहित्य समाजमा समेत आबद्ध छन् । वि.स. २०७२ सालदेखि नेपाली कला र साहित्यको क्षेत्रमा चिनिएका परियारले छोटो समयमा युवाहरूमाझमा लोकप्रियता कमाएका हुन् । मोफसलमा कलम चलाइरहेका परियारले ‘सियोको दुरविन’ कविता सङ्ग्रह मार्फत नेपाली कविताको क्षेत्रमा गहकिलो छाप छाडेका छन् । उनै परियारका तीन कविता साताको साहित्यमा प्रस्तुत गरेका छौँ ।
…………………
पाठ
कैंची जस्तो मन बनाउनु
काटी रहन्छ, टुक्राई रहन्छ
सियोमा गुलाफ बेर्नु
चोटै चोटको धागो उन्नु
अनि
उध्रेको जिन्दगीलाई
धैर्यताको कलमा राखेर
बिस्तारै – बिस्तारै सिलाउँदै जानु
दुखाईहरू मीठा हुन्छन
दुख्न थाले पछि !!
………………..
एक्ली आमा
आमा एक्लिए पछि
गोठु गाईले आँखा तर्न थाल्यो
आँखामा कसिङ्गर पर्न थाल्यो
पैतला सम्म जिन्दगी झर्न थाल्यो
अनि रहरहरूले बसाँई सर्न थालेको हो
आमा एक्लिए पछि
कुप्रिएको डउँठे निगुरोले पनि मुन्टो उठाउन खोजेको हो
तिते करेला र फर्सीका मुन्टाहरूले बार नाघ्न खोजेको हो
अभावले नगद भन्दा ज्यादा बाँकी माग्न खोजेको हो
नाम्लोले डोको भन्दा ज्यादा घाँटी बाँध्न खोजेको हो
जब चिसो हिउँ खस्छ आमा खुशी हुन्छिन
किनकी बर्ष भरी चिसिएको मन
हिउँ सँग मिसाउँछिन
र भन्न चाहिँ जाडोले कठ्याङग्रिएको नि भन्छिन
तात्न त मजेत्रोले मन के पो तातिन्थ्यो होला र
जब बाक्लो बादलले ढाक्छ आमा खुशी हुन्छिन
किनकी बर्ष भरी लागेको डर
बादल सँग मिसाउँछिन्
र भन्न चाहिँ अँध्यारोले आङ फुलेको नि भन्छिन्
दिन त अभरले डर भन्दा अरु के पो दिन्थ्यो होला र
जब बेस्सरी हुरी चल्छ आमा मुस्कुराउँछिन
किनकी बर्ष भरीको थकान
हुरी सँग मिसाउँछिन्
र भन्न चाहिँ खुई काढेको नि भन्छिन
दिन त कामले आराम कैले पो दिन्थ्यो होला र
जब ठूलो चट्याङ पर्छ आमा मुस्कुराउँछिन
किनकी बर्ष भरी उठेको रिस
चट्याङ सँग मिसाउँछिन्
र भन्न चाहिँ दाँत दुखेर दाह्रा किटेको नि भन्छिन
गर्न त कसले पो मायाले रिस गथ्र्याे होला र
जब मुसलधारे पानी पर्छ आमा हाँसी दिन्छिन
किनकी बर्ष भरी थामिएको आँशु
पानी सँग मिसाउँछिन
र भन्न चाहिँ आँखा पोलेर पानी झरेको नि भन्छिन
चिन्न त हाँसोले आँशु कहाँ पो चिन्थ्यो होला र
आमाले नउठाए सम्म रवी उठ्दै – उठ्दैन,
उदाउँदै – उदाउँदैन
आमाले नसुताए सम्म चाँदनी सुत्दै – सुत्दिनन,
निदाउँदै – निदाउँदिनन
तिर्खाएका ताराहरुले आमाको पसिना पिउँछन् र अघाउँछन
निदाएका नदिहरुले आमाको तिर्खा सम्झिन्छन् र ब्युँझिन्छन
आमा एक्लिए पछि
संसारको मुखले लाज बेचेको भन्छ, चरित्र हिन् भन्छ
तर
सन्तानको मुखले अनाज किनेको भन्छ, पवित्र छिन् भन्छ
आमा एक्लिनु भनेको
पृथ्वीको कक्षमा सूर्य घुम्नु हो
आमाको विपक्षमा दुनियाँ झुम्नु हो
आमा एक्लिनु भनेको
आमाकै साथीले सौता ठान्नु पनि हो
आमाकै दुश्मनले देउता मान्नु पनि हो
आमा सुत्नु भनेको एउटा युग बितेर जानु हो
आमा उठ्नु भनेको एउटा युद्ध जितेर आउनु हो
आमा हिड्नु भनेको बाटो भेटिनु हो
आमा कुद्नु भनेको बतास मोडिनु हो
आमा उड्नु भनेको आकाश होचिनु हो
आकाश होचिनु भनेको आमा अग्लिनु हो
आमा अग्लिनु भनेको देश अग्लिनु हो ।।
………………..
नोकर
ढुङ्गामा ठोकियो कि सिसाले काट्यो
रगतका पाइला टैक्दै छोरो आएको छ
आँशुको औषधी बनाएर घाउ सफा गरिदिदै छु
गाउँको गोरेटो खुल्लै छ तर नेपालको बाटो बन्द छ
छोराको खुट्टा भन्दा धेरै मेरो कलेजो चोक्टिएको छ
कलेजो कै छेऊ च्यातेर घाउमा पट्टि बाँधि दिएको छु
हिक्क हिक्क गर्दै छोराको खबर सुनाएर
फोन राखिन
जति बेला मालिकको जुत्ता पालिस गर्दै थिएँ म
मन लाग्यो कि आँशुको मलमलले अझै टल्काई दिउँ
पापी हुन् ति अपराधी हुन्
यस्ती नाबालक छोरीको शरिर लुछेर
आफ्नो प्यास मेट्ने भोका कुकुरहरु
यति बोल्ने बित्तिकै फोन काटियो
जति बेला मालिकको घरमा पालिएको छाउरी कुकुरको अंगरक्षक भएर बसेको थिएँ म
मन लाग्यो कि
छाउरी कुकुरलाई छुने पापी बतासलाई पनि रोकिदिउँ
लट्टा परेका कपाल भित्र काँइयो छिर्दैन
सेउती खोलाको किनारमा साबुन पाइदैन
गुन्यु बेरेर नुहाउँदा घाम लजाउँछ
मेरो राजा म के गरुँ ?
मैले जवाफ दिन सकिन
जति बेला मालिक्नी साइबाको जुठो पेटिकोटमा साबुन दल्दै थिएँ म
मन लाग्यो कि पेटिकोटको इजारमा एउटा कहिल्यै नफूक्ने दरिलो गाँठो बाँधिदिउँ
ए राजा
सुन्नु न
छानो चुहिएर अगेनो चिसो भो
हुरीले झ्यापझुप्पै टुकी पनि निभाइदियो
वस्तिमा कोलाहल मच्चिएको छ
दुई जिउकी गोठु लाई कता सार्नु
सुत्केरी मने की आमालाई कहाँ लैजानु
ओथारा बसेकी डिम्बाकी माउको खोर भत्कियो
बाहाँ कसेका जुइनाहरु चुँडिन थाले
हामी के गरौं ?? कहाँ जाऔं ??
चट्याङ पड्केको आवाज आयो
फोन च्वाट्टै काटियो
मन च्यातिएर टाल्नै नमिल्ने गरी धुजा धुजा भयो
जति बेला मालिकको बैठक कोठामा
देशको सिङ्गो नक्शा टाँस्दै थिएँ म
मालिकले ईशारा गर्दै काँटी ठोक्न लगाउनु भो
मैले होशियारीका साथ काँटी भसाई दिएँ
जहाँ काँटी पूरै भासियो
हो त्यहीँ नेर मेरो घर थियो ।।
Post Views: 67