स्पेनिस ला लिगा फुटबलअन्तर्गत बार्सिलोनाले भालाडोलिड बिरुद्ध साँघुरो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित भएको रियल भालाडोलिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नौमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन उस्मान डेम्बेलेले खेलको ९० औं मिनेटमा निणर्ायक गोल गरे ।
खेलको ७९ औं मिनेटमा भालाडोलिडका ओस्कार प्लानोले रातो कार्ड पाएपछि भालाडोलिड १० खेलाडीमा समेटिएको थियो ।
उक्त खेलमा जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ भने शिर्ष स्थानको एथ्लेटिको मड्रिडभन्दा मात्र एक अंकले कम छ । अब हुने एथ्लेटिको को खेलमा एथ्लेटिकोले बराबरी खेलेमा वा हार बेहोर्न पुगेमा र बार्सिलानाले एल क्लासिको जितेमा बार्सिलोना शिर्ष स्थानमा उक्लने छ ।
आजको खेल पश्चात बार्सिलोनाले २९ खेलमा ६५ अंक जोडेको छ भने शिर्ष स्थानको एथ्लेटिको को २९ खेलमै ६६ अंक रहेको छ । यस्तै आजको खेल हारेको भालाडोलिट २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
हिजो भएको उक्त खेल सुरु हुनु पूर्व बार्साको कप्तानको जिम्मेवारी सम्हाल्ने अन्य तिन खेलाडीहरु सर्जियो बुस्केट्स, जेरार्ड पिके र सर्जि रोबर्टो तथा मेस्सीका परिवारले मेस्सीलाई उनले बार्साका लागि खेलेको ७६७ बढी खेलको खुसीयाली बढाउन साइन गरी फ्रेम गरिएको जर्सी मेस्सीलाई हस्तान्तरण गरेका छन् ।