विराटनगर । सर्वसाधारणका लागि दोल्ती पावर कम्पनीको प्राथमिक सेयर आईपीओ को बिक्री खुला भएको छ । स्थानीय, वैदेशिक रोजगारमा रहेका, कर्मचारी तथा सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयर सर्वसाधारणका लागि खुला भएको हो ।
न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । खाता रहेको बैंक तथा वित्तीय संस्था वा सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सकिनेछ । वैशाख ३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।
कस्तो छ कम्पनी ? गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८१ पैसा छ भने प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ छ । इक्रा नेपालबाट कम्पनीले डबल बी रेटिङ पाएको छ । यसले कम्पनी दायित्व वहन गर्ने क्षमतामा औसत रहेको जनाउँछ । कम्पनीले दैलेखको नौमुलेमा पदमखोला जलविद्युत् आयोजना निर्माण गरेको छ । यस आयोजनाको लागत ब्याजसहित कुल १ अर्ब ८ करोड २२ लाख छ । प्रतिमेगावाट लागत २४ करोड ५ लाख बढी पर्दछ । औसतमा कम्पनीमा लागत बढी देखिन्छ ।
Post Views: 1