विराटनगर । नुवाकोटमा एक युवाको हत्या भएको छ । हत्या आरोपमा एक वृद्ध पक्राउ परेका छन् । ककनी गाउँपालिका वडा नम्बर २, ठूलोचित्रेका ३० वर्षीय मंगले तामाङको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी तिलक भारतीका अनुसार मंगलेको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले सोही घरमा बस्ने ६५ वर्षीय डम्बरबहादुर तामाङलाई पक्राउ गरेको हो ।
हत्या भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली खटिएको थियो । उक्त घटनामा शंकास्पद देखिएपछि प्रहरीले डम्बरबहादुरलाई घर नजिकैबाट पक्राउ गरेको हो ।
हत्या गरिएकाा मंगले सोही गाउँका हुन् । आइतबार राति मापसे गर्न डम्बरबहादुरले मंगलेलाई आफ्नो घरमा बोलाएका थिए । उनीहरू दुवै जना मजदुरी गर्थे ।
राति करिब सवा १० बजेतिर उनीहरू दुई जनाबीच विवाद भएको थियो । दुवै जनाले मादक पदार्थ सेवन गरेका थिए ।
उनीहरूबीच पुरानो रिसइबी रहेको र सोही विषयलाई लिएर मंगलको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । विवादका क्रममा मंगलेमाथि खुर्पा प्रहार भएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
पक्राउ परेका डम्बरबहादुरका छोराको पनि केही वर्षअघि हत्या भएको थियो । हत्या गर्ने व्यक्ति मंगलेका आफन्त भएको र ती आरोपी पनि कारागारमा रहेको प्रहरीले जनाएको छ ।
Post Views: 0