विराटनगर । मध्य तराईका विभिन्न ठाउँमा तातो हावासहित ‘लू’ चल्न थालेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । गर्मी बढेसँगै तापक्रम बढेर ४० डिग्रीभन्दा माथि पुग्ने र तातो हावा चल्न थालेपछि यसलाई ‘लू’ भनिन्छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै आगामी पाँच दिनसम्म तराईमा तातो हावा चल्ने तथा लु लाग्ने सम्भावना देखिएको जानकारी दिएको हो ।
‘आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने देखिन्छ’, बुलेटिनमा भनिएको छ, ‘तसर्थ, देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्न सक्ने सम्भावना रहेकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
अहिले मधेस प्रदेश र लुम्बिनी प्रदेशमा तापक्रम बढ्दो क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नवलपरासीको दुम्कौलीमा तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ । भैरहवा, सिमरा, जनकपुर र गौरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । भैरहवा र सिमरामा ४० दशमलव ५ तथा जनकपुरमा ४० दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ । नेपालगञ्जमा उच्चतम तापक्रम ३८ दशमलव ८ र विरेन्द्रनगरमा ३६ दशमलव ८ रहेको छ ।
Post Views: 1