विराटनगर । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्ति लगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताए ।
नेपाली राजदूतावास र इजिप्टको ‘अरब वुमन्स इन्भेस्टर्स युनियन’ले बुधवार इजिप्टको राजधानी कायरोमा इजिप्ट उद्योगी व्यवसायीका लागि नेपालको व्यावसायिक एवं लगानी वातावरणबारे आयोजित प्रर्वद्र्धनात्मक कार्यक्रममा राजदूत लम्सालले इजिप्ट र नेपालबीच पर्यटन, कृषि उत्पादन, रासायनिक मल, ऊर्जालगायत क्षेत्रमा आपसी सहयोगको प्रशस्त सम्भावना रहेको जानकारी दिए।
नेपालको आर्थिक सम्भावना एवं वैदेशिक लगानीका अवसर र वातावरणका बारेमा चर्चा गर्दै राजदूत लम्सालले आवश्यक सहयोग, सहजीकरण र समन्वयका लागि दूतावास तत्पर रहेको बताएका छन् । उनले नेपालमा विद्यमान लगानीका अवसरबाट लाभ लिन उपस्थित उद्योग व्यवसायीलाई आग्रह गरेका छन ।
निजी तथा सार्वजनिक–निजी साझेदारीअन्तर्गत लगानीको विधि र प्रक्रिया, हालसम्म नेपालमा भएका ठूला लगानी परियोजना एवं लगानीयोग्य परियोजनाको सूचीबारे जानकारी गराइएको उक्त कार्यक्रममा उद्योगी व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिसहित करिब ७० जना सहभागी रहेको दूतावासले जनाएको छ ।
Post Views: 3