कटवाल दिपक
विराटनगर, २३ साउन । भारतसँग खुल्ला सिमाना जोडिएको विराटनगरका विभिन्न स्थानबाट हुने अव्यवस्थित आवतजावतले कोरोना संक्रमणको जोखिम बढाएको छ । स्वास्थ्य मापदण्ड नअपनाई हुने आवतजावतले थप जोखिम बढेको हो ।
पछिल्लो समय विराटनगरको दरैया, स्लामपुर, मटिहर्वा लगायतका स्थानबाट दैनिक हजारौँ मानिस आवतजावत गर्ने गरेका छन् । नत उनिहरूले सामान्य स्वास्थ्य मापदण्ड समेत पालना गरेको पाइँदैन ।
मुख्य नाकामा हेल्प डेक्स स्थापना गरिएको छ । तर, भारतका विभिन्न स्थानबाट आउने मानिसहरू पनि चोरबाटोकै प्रयोग गर्छन । स्वास्थ्य क्षेत्रका विज्ञहरूले यसरी हुने असुरक्षित आवतजावतले कोरोना संक्रमणको जोखिम उच्च भएको बताउने गरेका छन् ।
सिमानाकामा बसेका सुरक्षाकर्मीले पनि भारतका विभिन्न स्थानबाट आएका नागरिकलाई हेल्प डेक्स तर्फ नपठाएर खुल्ला नाकाबाटै सिधै नेपाल प्रवेश गर्न दिने गरेका छन् । सिमानाकामा रहेका सुरक्षाकर्मीले केही रकम लिएर उनिहरूलाई सहजै प्रवेश दिने गरेको आरोप समेत लाग्ने गरेको छ ।
पहिला पनि यसरी नै आवतजावतमा कडाइ नगरेका कारण र भारतका विभिन्न स्थानबाट आउने नागरिकलाई प्रहरीले केहि रकम लिएर प्रवेश गर्न दिएका कारण कोरोना फैलिएको आरोप समेत लाग्ने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले बजार पसल भने साँझ ६ बजेसम्म मात्र खोल्न दिने गरेको छ । तर, सिमानाकाबाट हुने असुरक्षित आवतजावतमा भने कडाई गर्न चासो देखाएको छैन् । खुल्ला सिमानाकाबाट हुने असुरक्षित आवतजावत रोक्न प्रशासन कार्यालय नै मौन रहेको छ ।
Post Views: 576