काठमाण्डौ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने बताएका छन ।आज शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष भट्टराईले राज्यले संविधानमा लेखिसकेको कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने बताएका हुन ।
उनले आउँदै गरेको सङ्घीय शिक्षा ऐनबाट पनि यस कुरालाई सरकारले कसैको दबाबमा हटाएको भन्ने सूचना आफूले पाएको भन्दै कुनै पनि बहानामा निजी क्षेत्रलाई मुनाफा कमाउन दिन नहुने बताए। कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने कुरा सङ्घीय शिक्षा ऐनमा राख्न सरकारले खुट्टा कमाएको उनको भनाइ छ ।
उनले भने ‘ कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्छ । शिक्षा ऐनमा त्यो ढङ्गको कुरा आउन सकिरहेको छैन भन्ने सुनेको छु, आउन खोजेको कुरालाई पनि विरोध भयो भनेर सरकारले खुट्टा कमाएपछि हट्दैछ भन्ने सुनेको छु, त्यसो गर्न हुँदैन, मिल्दैन । कक्षा १२ सम्मको शिक्षा निःशुल्क भनेर संविधानमै लेखिसकेपछि कुनै पनि बहानामा निजी क्षेत्रलाई मुनाफा कमाउन दिन सकिँदैन । उच्च शिक्षाको हकमा धेरै लगानी राज्यको र थोरै हिस्सा निजी क्षेत्रलाई दिन सकिन्छ ।’
भट्टराईले अब प्रत्येक मान्छेले वैज्ञानिक शिक्षा, आधुनिक शिक्षा पाउनुपर्ने र त्यसको दायित्व राज्यले लिनुपर्ने बताउनुभयो । राष्ट्रिय नीति नबन्दा एकथरीले शिक्षालाई पूरै व्यापारीकरण गर्ने र अर्कोथरीले शिक्षाको महत्त्वबोध नै नगरिदिँदा शिक्षा राम्रो नभएको भन्दै द्वेध शिक्षा नीति अन्त्य हुनुपर्ने बताएका छन।
Post Views: 3