मीनकुमार नवोदित
विराटनगर / कविता भन्ने बित्तिकै कम पढिने र सुनिने विधाका रूपमा आममानिसले बुझ्ने गरेका छन् । अझ कविगोष्ठीमा दर्शक र स्रोताको बाक्लो उपस्थिति जुटाउन निकै गाह्रो पर्छ । उपस्थिति भए पनि कतिखेर कार्यक्रम सकिन्छ भन्ने चिन्तामा हुन्छन् दर्शक । तर, शनिबार विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा खचाखच उपस्थित दर्शकले डेढ घन्टा समय गएको पत्तै पाएनन् । वरिष्ठ कवि तीर्थ श्रेष्ठले कविता वाचन गरिरहँदा तालीको गढगढावटले हल नै गुञ्जिएको थियो । दर्शकको साथ पाएपछि श्रेष्ठ एकपछि अर्का कविताहरू सुनाउँदै गए ।
श्रेष्ठले ‘प्रेमको पुस्तक’, ‘बाघ’, ‘फोटोमा’, ‘बोन्साई’, ‘म मुक्तिनाथ’, ‘धर्मग्रन्थ’, ‘मलाई इलाम हुन मन लाग्यो’, ‘लाहुरेको चिठ्ठी’, ‘आमा’, ‘ओ काठमाडौं,’ ‘सर्प र राजधानी’, ‘तान्सेन’, ‘पागलहरू छन् चुपचाप’, ‘चराहरू’, ‘वृद्धाश्रमबाट आमाको चिठ्ठी’, ‘असमर्थ राजधानीसँग’, ‘लयमा’ शीर्षकका कविता सुनाए ।
उनले कवितामार्फत माओवादी सशस्त्र युद्धका क्रममा मारिएका शिक्षक मुक्तिनाथ अधिकारीदेखि आफूलाई छाडेर जाने प्रेमिकासम्मलाई सम्झिन भ्याए । हरेक कविताको पृष्ठभूमि र रचनागर्भ सुनाउँदै कविता वाचन गरेर श्रेष्ठले दर्शकको पूरै ध्यान आफूतिर आकर्षित गराउन सफल भए । वि. सं. २०१६ कात्तिक १६ गते पोखरामा जन्मिएका श्रेष्ठका ‘जिन्दगीको गुरुक्षेत्रबाट,’ ‘पाइलाका नीवहरूले’ र ‘धर्सैधर्साको चक्रव्यूह’, ‘महाभारतका गीतहरू’, ‘जिन्दगीको गोधूलीमा’, ‘मेरै हिमालजस्तो’लगायतका कृतिहरू प्रकाशित छन् । राष्ट्रिय प्रतिभा पुरस्कार, मोती युवा वर्ष पुरस्कार, शिरोमणि पुुस्कार, वासुशशी स्मृति पुरस्कारलगायत दुई दर्जनभन्दा बढी विभिन्न पुरस्कार र सम्मानबाट विभूषित श्रेष्ठले पटक–पटक आफ्नो विगतलाई स्मरण गरे । दर्शकबाट पटक–पटक ‘वान्समोर’ भनेपछि उनले ‘हिउँमा लेखिएका नामहरू’ वाचन गरे ।
हिउँमा लेखेर आएका छौं
हामीले आ–आफ्ना नामहरू
एकछिनपछि घाम लाग्यो भने
रहने छैनन् हाम्रा नामहरू
एकछिनपछि हिउँ थपियो भने पनि
रहने छैनन् हाम्रा नामहरू
हामी हुँदै नरहने हाम्रा नामहरू
हामी नै नभएपछि कसरी रहलान् हाम्रा नामहरू ।
“डेढ घन्टा समय गएको पत्तै भएन,” इटहरीबाट आएका कवि देवान किराँती भन्दै थिए, “वास्तवमा यस्तै कविताहरू लेखिने र सुनाउने हो भने कविताका पाठक र दर्शक नबढ्ने कुरै छैन ।” श्रेष्ठका कविता सुन्न युवाहरूको बाक्लो उपस्थिति रहेको थियो । कविताले यतिसम्म मन छुन्छ भन्ने आफूलाई पहिलोपटक थाहा भएको युवा लेखक कटवाल दीपकले बताए । उनले भने, “वास्तवमै कतिपय कवितामा मैले आफैंलाई पाएँ ।”
काव्यारोहणअन्तर्गत आरोहण कविता यात्राको छैटौं शृंखलामा यसपटक पोखरामा बसेर विगत साढे चार दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय श्रेष्ठलाई उभ्याएको हो । २०७६ मंसिर ७ गतेदेखि सुरु भएको काव्यारोहण शृंखलामा यसअघि बैरागी काइँला, तुलसी दिवस, बम देवान, मोमिला र मनप्रसाद सुब्बाले कविता वाचन गरिसकेका छन् । कोभिडका कारण पाँचौं शृंखलापछि काव्यारोहणलाई निरन्तरता दिन नसकिएको कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले बताए ।
कोभिडको संक्रमण कम भएकाले छैटौं शृंखला आयोजना गरिएको उनको भनाइ छ । सशुल्क आयोजना हुने कार्यक्रममा पूर्वका मोरङसहित, धनकुटा, सुनसरी, झापा, इलामलगायतबाट कवि साहित्यकारहरू सहभागी हुने गरेका छन् । कोभिड संक्रमण घट्दै गए अन्य शृंखलालाई निरन्तरता दिँदै जाने अर्का कार्यक्रम संयोजक धीरज राईले जानकारी दिए । कविता वाचनपछि वरिष्ठ कवि श्रेष्ठलाई आरोहणका तर्फबाट अध्यक्ष भैरव क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
Post Views: 3