जुम्ला । जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेकोे पाइएको छ । चालू आर्थिक वर्षको हालसम्म १२५ जना महिलाको नाममा जग्गा पास भएको पाइएको हो । चालु आर्थिक वर्षमा ८६० वटा लिखत हुँदा त्यसमा १२५ जना महिलाको नाममा लिखत पाएको भएको जिल्ला मालपोत कार्यालय जुम्लाले जनाएको छ ।
जुम्लाका सातवटा गाउँपालिकाका ५४ जना र नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन भएको मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए । उनले भने, ‘गाउँपालिकाभन्दा नगरपालिका भित्रका महिलाहरूको नाममा बढी जग्गा रजिस्ट्रेशन भएको तथ्याङ्क छ ।’
पछिल्लो समयमा सरकारले नै महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजश्व छुट् दिने प्रवधान ल्याएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको हो ।जग्गा पास गर्दा महिलाको नाममा राजश्व कम लाग्ने भएकाले महिलाको नाममा रजिस्ट्रेशन गर्नेको संख्या बढेको नायब सुब्बा मोन विष्टले बताए । नगरपालिका भित्रको महिलाको नाममा जग्गा पास भएमा २५ प्रतिशत र गाउँपालिकाको महिलाको नाममा जग्गा रजिस्ट्रेशन भएमा ५० प्रतिशत राजश्वमा छुट हुने गरेको छ ।
राजश्वमा छुट हुने भएकाले सम्पतिमा महिलाको पहुँच बढ्दो क्रममा रहेको पाइएको छ । कार्यालय प्रमुख रोकाया भन्छन्, ‘महिलाको नाममा जग्गा रजिस्टेशन हुँदा १० लाख ७३ हजार ८३५ रुपैया राजश्वमा छुट भएको छ । नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन हुँदा ९ लाख ४२ हजार १६१ र गाउँपालिका भित्रका ५४ जना महिलाको नाममा जग्गा रजिस्टेशन हुँदा एक लाख ३ हजार राजश्वमा छुटभएको छ ।
Post Views: 5