हिरासतमा एक रात ! ‘बर्दीको गुण्डा प्रहरी’

हिरासतमा एक रात ! ‘बर्दीको गुण्डा प्रहरी’

 राष्ट्रिय डेली

मोहन ढकाल

केही दिन अगाडीदेखि नै एक आत्मिय मित्रले बेलुका कतै भेटेर छलफल गरौँन भनेका कारण बल्ल आज साइत जुरेको थियो । म र साथी हाम्रो सबै काम सकेर बेलुका ८ बजे तिर विराटनगरको बसपार्क पछाडी रहेको एक रेष्टुरेन्टमा गयौँ । साथी पनि आफ्नै काममा ब्यस्त भएको हुनाले आत्मिय मित्र भएपनि भेट नभएको १५/२० दिन भइसकेको थियो । साथी पनि ब्यस्त भएको र हामी पनि ब्यस्त भएका कारण भेट हुन पाएको थिएन ।

रेष्टुरेन्ट भित्र पसेर साथीसँग कुरा गर्दै एक टेवलमा बस्यौँ । विराटनगरको गर्मी त सबैलाई थाहा नै छ । रेष्टुरेन्टको वेटर आएर मेन्यु देखाएपछि साथीले तीन प्लेट खसीको भुटन र फुच्चे गोर्खा वियर तीनवटा मगायो । बिचमा साथीसँग कामको विषयमा सामान्य गफ गर्दै एकछिन बस्यौँ । वेटरले वियर ल्याइसकेपछि तीनवटा वियर चेयर्स गर्यौँ । विशेष गरेर कुनै चाडपर्व र कहिलेकाँही साथिसँगको भेटघाटमा मात्रै खाने गरेका थियौँ । त्यो दिन पनि त्यस्तै भयो । अन्दाजी साढे ९ बजीसकेको थियो । त्यही बिचमा अरू एकएक वटा हाफ वियर हामीले थपिसकेका थियौँ । लगभग १० बजे हामी रेष्टुरेन्टबाट बाहिरियौँ । बाहिर निक्लेर एकछिन साथीसँग गफगाफ भयो । नेपालमा रोजगारीको अवसर नभएका कारण साथीले विदेश जाने कुरा गर्दै थियो । एक महिना भित्रमा उ विदेश जाने रहेछ । साथीको कोठा उतै भएका कारण उ आफ्नो कोठा तर्फ लाग्यो । हामी रेष्टुरेन्टबाट बाइक स्टार्ट गरेर बरगाछी तिर हिड्यौँ ।

०००००००००००

प्रहरीसँगको जम्काभेट
रेष्टुरेन्ट बाट बाहिर निक्लेर एकछिन कुरा गर्दा साढे १० बजिसकेको थियो । बाइक स्टार्ट गरेर हामी हाइवेमा आयौँ । हामी महेन्द्र चोक पुगेका थियौँ । संयोगवस् दुईजना साथीसँग भेट भयो । त्यहाँबाट चारैजना दुईवटा बाइकमा बरगाछी तर्फ लागियो । तर उनीहरू बिचमा एकछिन रोकिए । हामी सरासरी अगाडी बढियो । रातको समयमा बाटो खुल्ला भएका कारण हामी ७० देखि ७५ को स्पिडमा थियौँ । त्यहीमाथि बुलेट बाइक । नकुदाउने कुरै भएन । महेन्द्र चोकबाट थोरै अगाडी आइसकेपछि वडा प्रहरी कार्यालयको गाडी विस्तारै अगाडी बढीरहेको थियो । हाम्रो बाइक देखेर प्रहरीको भेनबाटै एक प्रहरीले अपशब्द प्रयोग गर्दै गाली गरे । ‘ओई साले मर्लास है ।’ हामी उसको वास्ता नगरि अगाडी बढ्यौँ । बिचमा पछाडी आउने साथीले फोन गर्यो । र पर्खिन भन्यो । हामीले भृकुटी चोकमा बाइक साइट लगायौँ । प्रहरीको भेन अगाडी थियो । हामीले बाइक रोक्नासाथ प्रहरीहरू भेनबाट ओर्लिए र हामी तर्फ आए । भेनबाट फिल्मि शैलीमा उत्रिएका प्रहरीहरूले हामीमाथी अपशब्द प्रयोग गर्दै मोटरसाइकलको चाबी खोसे । गोजी, झोला खानतलास गर्न थाले । हामीलाई यताउता धकेल्न थाले । साथीहरूको पर्खाइमा रहेका हामी चुपचाप नै थियौँ । एम सिंह नाम गरेको एक प्रहरीले जथाभावी गालि गर्दै मेरो झोला जवरजस्ति तान्यो । मैले किन झोला खोस्नु भएको भनेर भनेँ । साला धेरै बोल्छस भनेर मलाई लात्तिले हान्यो । र म सडकमा लडेँ । जसका कारण मेरो दुबै हातमा चोट लाग्यो ।

तर उनीहरूले अपशब्द प्रयोग गर्दै दुव्र्यबहार गर्न छाडेनन् । नत हामीले कुनै गल्ति नै गरेका थियौँ । समाचार लेख्ने हाम्रो हातमा हतकडी लगाइयो । मानौँ हामीले कुनै ठुलो अपराध नै गरेका थियौँ । ‘हामीले वियर खाएका छौँ । हाम्रो गाडी नियन्त्रणमा लिनुहोस् भनेर माफी माग्दा पनि उनिहरूले अपशब्द बोल्न छाडेनन् ।’

हामीलाई अपहरण शैलीमा हतारहतार भेनमा हालेर वडा प्रहरी कार्यालय (क) तर्फ लाग्यो । साथीहरू त्यहाँ आइपुगेका थिएनन् । साथीहरूले हामीलाई फोन गरिरहेका थिए । तर, हामीलाई फोन उठाउन नदिएर प्रहरी जवानले हाम्रो मोवाइल प्रहरी भेनमा चढाउँन नपाउँदै खोसिसकेका थिए । हामीलाई वडा प्रहरी कार्यालय (क) पुर्याइयो । साथीले पनि थाहा पाएर केही समयपछि त्यहाँ आइपुगे । त्यहाँ पुगेका हाम्रा साथीलाई पनि प्रहरीले दुब्र्यबहार गरे । लाग्थ्यो उनीहरूले हामीलाई नियोचित रूपमा फसाउन खोजिरहेकका छन् । जुन भेनमा इन्सपेक्टर पनि थिए ।

प्रहरीले हामीलाई लागुऔषध प्रयोग गर्छन भन्ने आरोप समेत लगाउन भ्याए । र वडा प्रहरी कार्यालय पुगेका हाम्रा साथिहरूले मेडिकल गराउन प्रहरीलाई दवाव दिए । यहाँबाट प्रहरीले कुनै निर्दोश ब्यक्तिलाई फसाउन चाहे भने जसरी पनि फसाउन सक्ने रहेछन् भन्ने प्रमाण सुरक्षित भयो । वडा प्रहरी कार्यालयबाट हामीलाई छाड्न खोजिएको थियो । तर हामीले मानेनौँ । प्रहरीले हामीलाई हातपात गरेर चोट लागेका कारण हामी फर्किन मानेनौँ । कुनै गल्ति बिना हामीलाई भेनमा हालेर वडा प्रहरी कार्यालय पुर्याइएको थियो । हामीले दुईदुई वटा वियर खाएका थियौँ, तर प्रहरीको दादागिरी शैली र क्रुर ब्यबहार प्रति हामीलाई थप केही जान्ने कौतुहलता जाग्यो ।

ऐन र कानुनको बिस्तृत ब्याख्या अर्को स्टोरीमा गरौँला । मादक पदार्थ सेवन गरी सवारी चलाउने नागरिकलाई सम्झाइबुझाई मादक पदार्थ सेवन नगरेको र सवारी चालक अनुमति पत्र भएको ब्यक्तिलाई जिम्मा लगाई घर पठाउने प्रहरीको दायित्व हुन्छ । तर प्रहरीले अपहरण शैलिमा गरेको दुव्र्यबहार प्रति हामीलाई थप रहस्य जान्ने उत्सुकता सहित प्रहरी हिरासत मै बस्ने निर्णय गरियो ।

०००००००००००

प्रहरीले गर्ने मेडिकल र सेटिङ
ठूलै अपराधी झैँ पक्राउ परेका हामीलाई प्रहरीले स्वास्थ्य परिक्षणको नाममा आधारातमा एकाएक कोसी अस्पतालको इमरजेन्सीमा पुर्याइयो । अस्पतालको इमरजेन्सीमा रहेका एप्रोन र आइडी कार्ड रहित एक ब्यक्तिलाई मेडिकल रिपोर्ट बनाउन प्रहरीले लगाउने रहेछ । हामी हाम्रो स्वास्थ्य परिक्षण कति बेला हुन्छ भन्ने जिज्ञासामा थियौँ । तर हामीलाई बिना चेकजाँच अत्यधिक मापसे सेवन गरेको रिपोर्ट बनाइयो ।

त्यहाँ एकजनाले प्रहरीले जेजे भन्यो त्यही गरिदिँदा रहेछन् । उनी डाक्टर हो वा अरु कुनै चिकित्सकीय ब्यक्ति हुन थाहा थिएन । जबकि उनीहरूले हामीमा कुनै परीक्षण नै गराएनन् । त्यहाँ पुर्याइएपछि सम्पुर्ण प्रक्रिया पुरा गरेर चेकजाँच पछि रिपोर्ट तयार गरिनुपथ्र्यो । तर त्यस्तो भएन । प्रहरी र अस्पतालको सेटिङकै आधारमा प्रहरीले जे–जे भन्यो त्यही अस्पतालले दिने रिपोर्टमा बन्दो रहेछ । हामीलाई केही संकोच फिल भयो । कतै हामीलाई ठूलै अपराध वा लागुऔषधको केसमा त प्रहरीले फसाउँदैन भन्ने हामीमा त्रास उब्जियो ।

प्रहरीले यस्तो अवस्थामा आफ्नो बर्चस्व उच्च राख्नका लागि जे पनि आरोप लगाइ निर्दोश ब्यक्तिलाई फसाउन सक्ने रहेछन् । अस्पतालका कर्मचारी र प्रहरीको यो मिलेमत्तो देखेर हालसम्म प्रहरीको भाषामा बोलिने र गरिने ‘मेडिकल रिपोर्ट’ कतिसम्म सहि छ भन्ने कुराको यथार्य चेकजाँच नै नगरी कोसी अस्पतालमा रहेका कर्मचारीले मेडिकल रिपोर्टमा गरेको हस्ताक्षरले नै प्रमाणित गर्यो ।

‘यसअर्थ नेपाल प्रहरीले स्वास्थ्य चेकजाँचको नाममा गरिने र बनाइने रिपोर्टमा सुधार गर्न आवश्यक छ ।’

मापसेको रिपोर्ट बनाएर हामीलाई पुनः प्रहरी भेनमा हालियो र हामीलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा लगियो । हामीसँगै अन्य तिन जनालाई पनि भेनमा राखिएको थियो । जसमध्ये दुईजना भारतीय नागरिक र एकजना विराटनगरकै थिए ।

०००००००००००००

‘नखाए पनि तिर्नै पर्ने सय रुपैँयाको उसिनेको चामल र लौकाको झोल’
मनभित्र अन्योलता, आफन्तसँग प्रहरीले बढाइदिएको दुरी र हिरासत भित्रै मारिन्छौँ की भन्ने डरत्रासको बीचमा झिसमिसेबाटै कोही आफन्त आउने प्रतिक्षा हाम्रो थियो । प्रहरीले बनाएको नियम परिवर्तन गर्ने सामथ्र्य कसैमा नहुँदा कार्यलय समय कुर्नुपर्ने बाध्यता आफ्नै थियो । रातभरीको दौडधुप र अनिधोका कारणले बिहानै पेटपुजा गर्न आवश्यक थियो । पैसा हुनेले हिरासत भित्रै सुर्तीजन्य पदार्थ र मासुभात प्रहरी कै सेटिङमा भित्रै खान मिल्दो रहेछ । तर त्रसित रहेका निम्न वर्गका नागरिकहरूले प्रहरीले दिने नाममात्रको लौकाको झोल र उसिनेको चामलको भात खानुपर्ने बाध्यता हुँदो रहेछ । हिटलर शैलीमा बिहान करिब नौ बजे तिर प्रहरीले सबैलाई लाइनमा लाग्न निर्देशन गरे । बाहिरबाट दिएको थाल लिएर थुनुवाहरू वाथरुममा गएर थाल सफा गर्न थाले । वाथरुममा पनि पानी नभएका कारण समस्या । भनेको बेला पानी नआउने । कसैले थाल सफा गर्न भ्याउँथे त कसैले भ्याउँदैन थे । ठूलो भाँडोमा खाना आयो । गेट खोलिदिए । अनि थुनुवाले पालैपालो खाना लिन थाले ।

यत्तिकैमा एउटा थुनुवाले भन्यो, ‘सँधै लौकामा हालेको झोल र उसिनेको चामलको भात आउँछ । खाएपनि नखाएपनि एक छाकको एक सय रुपैँया बुझाउनै पर्छ । कति थुनुवाहरू त तीनचार दिनसम्म नखाई बस्छन्, तर पनि प्रहरीलाई पैसा बुझाउनै पर्छ । खाना समेत राम्रो हुँदैन । नखाउँ भने भोकै बस्नुपर्छ, यहाँ त मानवता समेत हराइसकेको छ । केही बोल्यो भने कि भाटा कि मनपरी गाली खानुपर्छ ।’ उसले यसो भन्दै गर्दा हामीलाई भने डिएसपीसापले बोलाउनुभएको छ भन्दै एक प्रहरी आएर लिएर गए ।

०००००००००००००

प्रहरी हिरासतको १३ नम्बर कोठा…..
प्रहरीको दबदबाहट र अपहरण शैलीले हामीलाई प्रहरीले के गर्दैछ भन्ने विषयमा थप जान्ने कौतुहलता जाग्यो । र एउटा तितो अनुभव पनि भयो । यसमा पछुताउनुपर्ने हामीमा कुनै कारण छैन ।

हामी दुई जनालाई भिन्नाभिन्नै वार्डमा राखियो । भित्र कोही एकआपसमा गफ गर्दै थिए, कोही वार्ड बाहिर राखिएको टेलिभिजनमा कुनै कार्यक्रम हेर्दै थिए । कोही सुत्ने तरखरमा थिए । तर सुत्न सक्ने अवस्था नै थिएन । एक त गर्मी । त्यसमाथी पनि उँडुसको रजाँई । हिरासत भित्रका केही थुनुवा बेलाबेलामा गएर वाथरुममा चुरोट उँडाउने गर्थे ।

एकजनाको भित्र पसेको केही समय पछि पहिलादेखि नै रहेको एक थुनुवाले नाकमा हान्यो । उसको नाकबाट रगत बग्न थाल्यो । रगत बग्न थालेपछि उसलाई अर्कै वार्डमा पठाइयो । नाकमा हान्नेलाई बाहिर घुँडा टेकेर बस्न लगाइयो । भित्र पुरानो हुँदै गएकाले नयाँ आउनेलाई यस्तै गर्दा रहेछन् ।

एकछिनमा उसलाई पहिलाकै ठाउँमा राखियो । हामी दुवै जना फरक फरक वार्डमा रहेका कारण एकलाई अर्कोको तनाव लाग्नु स्वभाविक नै थियो । किनभने सँगै भित्र गएको एकजनाको भित्रपुग्नासाथ केही पहिलादेखि बसेको थुनुवाले नाकमा हानेको थियो ।

यो सब हुँदा झण्डै १ बज्न लागेको थियो । भित्र कोही लागुऔषधको त कोही चोरीको आरोपमा थुनिएका थिए । उनीहरू मध्ये कोही खुसी नै देखिन्थे त कोही निराश पनि देखिन्थे । पुरानो हुँदै गएपछि भित्रको हैकम जमाउन पाउँदा सायद उनीहरू खुसी भएका होलान । भित्र दुःख भएर पनि हिरासत भित्र के हुन्छ भन्ने कौतुहलता हामीमा जिवितै थियो ।

प्रहरीले अपशब्द मात्रै बोल्थे । त्यत्तिकैमा एक थुनुवा बोल्यो । खाने पानी छैन सर । उताबाट प्रहरीको जवाफ आयो, ‘छैन, चुप लागेर बस मु…. । अब भोली बिहान खानु ।’ उसलाई प्यास लागेको थियो । बिहानसम्म कुर्न सक्ने अवस्था पनि थिएन । उसले वाथरुममा गएर पानी थाप्न खोज्यो । तर त्यहाँपनि लगातार पानी नआउँदो रहेछ । थुनुवाले पानी पिउन समेत लामो समय पर्खिनुपर्ने रहेछ । पानी पनि आफैँले किनेर खानुपर्ने । तर समयमा नपाउने । माग्दा अपशब्दमा गाली खानुपर्ने ।

रातभर निदाउन सक्ने अवस्था थिएन । हामी मात्र हैन, त्यहाँ भएका कोही पनि निदाउन सक्दैन थिए । एउटै वार्डमा २०÷२५ जना थियौँ । कोही उठेर यताउता गरिरहेका थिए । कोही हिरासतको रेखदेख गर्ने प्रहरीसँग गफ गरिरहेका थिए ।

हामीसँगै गएको एकजनाले त्यहाँको पुरानो अर्थात केही दिनदेखि त्यहाँ बसिरहेको थुनुवालाई सोध्यो, ‘यहाँको लुगा धुन नपाइने रहेछ ? कति बर्षदेखि नधुएको जस्तै गन्हाइरहेको छ त ?’

केही दिनदेखि त्यहाँ बसेको थुनुवाले जवाफ दिन्छ, ‘यो पनि पाइएको छ । यस विषयमा बोल्यो भने यहि लुगा पनि ओछ्याउन पाउँदैनौ भन्छन् । भुँइमै सुत्नुपर्ने हुन्छ भन्ने डरले हामी पनि चुप बस्छौँ । म आउँदा पुराना साथीलाई सोध्दा भन्थे । धुन दिँदैनन् । यस्तै गन्हाउनेमा नै रातदिन बिताउनु पर्छ । हामीले पनि यो लुगा धुन मिल्दैन भनेर सोध्दा प्रहरीले गाली गर्छ ।’

‘यसअघि पनि हामी जिल्ला प्रहरी कार्यालय आउनेजाने गरिरहेकै थियौँ । रिपोर्टिङको क्रममा । बाहिरी वातावरण यति राम्रो छ । एसपी, डिएसपी बस्ने र अन्य कार्यकक्षहरू पनि राम्रा छन् ।’ तर हिरासत वार्ड भित्रको रहस्यमय अवस्था देखेर उसले बोल्दा बोल्दै मैले सोधेँ, ‘भित्र उँडुसको रजाँइ छ ? सुत्न पनि समस्या छ । जहिल्यै यस्तै हो ? यस विषयमा दुःख पोख्नु भएको छैन ।’

मैले बोली नसक्दै उसले भने, ‘भन्न त हामीले पनि भनेकै हो । दुःख पोखेकै छौँ । पहिलाका थुनुवाले पनि भनेकै होलान् । उल्टै थर्काउँछन् । तलाईँ भाटा चाहिएको हो भन्छन् । अनि कसरी भन्नु बारम्बार । भनेको कसैले सुन्ने भएपो । पानी माग्दा त समयमा पाईँदैन । यहाँ त बाहिरबाट नै उँडुस ल्याएर छाडिदिन्छन भन्थे साथिहरू । हो रहेछ । नभए यत्रा उँडुस कसरी हुन्थे यहाँ ।’

उसले भनेजस्तै हामीले पनि त्यहाँको ताजा अवस्था अनुभव गर्नुका साथै केही कुराहरू पत्ता लगाइयो । हामी मात्र हैन त्यहाँका अन्य थुनुवा उँडुसको टोकाइ र गन्हाउने कम्बलका कारण निदाउन सक्दैनन् । लाइन बारम्बार जाने । बाहिर राखिएको पंखाबाट हावा राम्ररी भित्रसम्म नपुग्ने ।

त्यसै क्रममा साथीले त्यहाँ केहीदिन अघिदेखि बसेको थुनुवालाई सोधे । प्रहरीले कहाँ लगेर पिट्छन् ? हामीले धेरै यस्ता घटना पनि सुनेका छौँ । हिरासतमा प्रहरीको यातना र कुटाइका कारण मृत्यु । यसै कारणले पनि मलाई यो कुरा बुझ्न मन लाग्यो र उसलाई सोधेँ ।

उसले पनि तत्कालै जवाफ दिँदै भन्यो, ‘कसैलाई यातना दिनुपर्यो या पिट्नु पर्यो भने १३ नम्बर.. । हामीसँगै आएका साथीलाई लगेर यातना दिने र पिट्ने गरेका छन् । पहिला त यँही पनि पिट्थे अरे । अहिले सिसिटिभी भएका कारण यहाँ पिट्दैनन् । मनपरी गाली गर्छन् । पिट्नका लागि १३ नम्बर लान्छन् ।’

‘२०÷२५ जनाले एउटा चर्पी र वाथरुममा लाइन लागेर छिर्नुपर्ने । त्यसमाथी वाथरुममा पानी पनि नआउने । एकछिन आयोभने एकछिनमा नआउने । डियुटीमा भएका प्रहरीलाई भन्दा एकछिनमा आउँछ भन्दै झर्किन्छन् । त्यहिपनि अपशब्दमा’ अर्को थुनुवाले सुनाए । उनले पुनः थपे, ‘प्रहरीले यत्ति मात्र भन्दैन् । पिटाई चाहिएको हो । यहाँ पिट्न मिल्दैन । पिटाई चाहिएको हो भने आइज १३ नम्बर ।’

०००००००००००

पैसा भए……..
भित्र भएका थुनुवासँग प्रहरीले पैसा लिएर चुरोट, सुर्ती, गुट्खा जस्ता सुर्तीजन्य पदार्थ ल्याइदिने गर्दा रहेछन् । आएका थुनुवाहरूले प्रहरीलाई पैसा बुझाउन सके प्रहरीले पनि उनीहरूलाई राम्रो ब्यवहार गर्दा रहेछन् । पैसा बुझाउन नसक्नेलाई प्रहरीले गर्ने ब्यबहार छुट्टै । प्रहरीले छाडा शब्द भन्दा नबोल्ने । बिहान हिरासत भित्र चुरोटको गन्ध आयो । बाहिरबाट त थुनुवाले लग्न सम्भव पनि छैन । कुन वार्डकाले चुरोट सल्काएका हुन त्यो त थाहा भएन । प्रहरीले पनि कुन मु…..चुरोट सल्कायो भन्दै यताउता गरे । खै कसलाई संकेत गर्दै हिँजो पनि देखेको थिएँ पख जाँ… भन्दै प्रहरी बोले । साथीले एकजना थुनुवालाई सोधे । भित्र कसले चुरोट ल्याइदिन्छ ? उनले भने, ‘पैसा भए यँही उभिएका प्रहरीले चुरोट, खैनी, गुट्खा भित्रै ल्याइदिन्छन् ।’

०००००००००००००

डिएसपीको कार्कीको दादागिरी
प्रहरीको हिरासत कक्ष भनेको कुनै जेल हैन । तर सामान्य मापसेमा या अन्य कुनै सामान्य गल्ति गरेर या नगरेर पक्राउ परेका एक वा सो भन्दा बढी नागरिकहरूलाई देशै ध्वस्त पार्छन जस्तै गरेर फरक–फरक हिरासतमा छुट्याएर राखिन्छ । अनि सुरु हुन्छ प्रहरीको नागरिकमाथि दम्भ र पावरको खेल । अनि त्यही हिरासत जेल भन्दा कमको हुँदैन । शक्ति र पावरमा भएका ब्यक्तिहरूको हिरासत भित्रनै रबैया फरक शैलीको हुन्छ । प्रहरीले गर्ने ब्यवहार र सत्कार नै फरक हुन्छ । तर सामान्य नागरिकलाई गल्ति बिनै सार्वजनिक मुद्धा ठोक्नेदेखि लिएर ठूलै केसमा फसाउने धम्की दिन्छन् । अझ बोले १३ नम्बर कोठाको कुराहामीले अघि बोल्यौँ ।

हामीलाई बिहानै छाडिदिने तरखरमा थिए प्रहरीहरू । तर हिजो वडामा पुगेका साथिहरू एकाबिहानै जिल्ला प्रहरी कार्यालय पुगेर हातपात गर्ने प्रहरीलाई कारबाही हुनुपर्छ भनेर अडान लिन थाले । त्यसपछि हामीपनि छुट्न मानेनौँ ।

बिहानको सवा ९ जति बजिसकेको थियो । फरक फरक वार्डमा रहेका हामीलाई बाहिर बोलाईयो । र प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन कार्की भएठाउँमा लगियो । डिएसपीको कार्यकक्षमा हामीलाई छाडेर एक प्रहरी बाहिर निक्लिए । हामीलाई थाहा थियो हामीले केही अपराध गरेका छैनौँ । हाम्रो गल्ति पनि केही छैन ।

रातभरीको अनिदो । त्यमाथी भोकै । केही थकान महशुस भइरहेको थियो । छेउमा भएको सोफामा बस्न खोज्यौँ । तर उनले रुखो शैलीमा हकारे । उनले झर्किदैँ भने, ‘तँलाई मैले बस् भनेको छु, यहाँ अगाडी उभ्भि जा.. । पालैपालो भन के भएको थियो हिजो ।’ हामीले सबै कुरा सुनायौँ । उनले हाम्रै गल्ति देखाउने प्रयास गरिरहेका थिए । उनको ब्यबहार अनुसार उनी एक नागरिकको सुरक्षामा खटिएका प्रहरी हैनन् । उनले बर्दीको खोल ओडेर एक गुण्डाको जस्तो ब्यबहार देखाए । कार्की जस्ता प्रहरीका कारण आज निर्दोश जनता पनि अपराधी भएर हिरासतमा थुनिएका छन् । हाम्रो कुरा सुनेपछि पुनः हामीलाई हिरासत भित्र नै लगियो ।

०००००००००००००

बर्दीको दम्भमा पसाउने खेल……….
तर यत्ति चाँही थाहा पाईयो । बर्दीको दम्भ देखाउनेहरूले विनाकारण जो–कोहीलाई पनि फसाउन सक्नेरहेछन् । लगभग १२ घण्टा पछि हामी त्यहाँबाट निक्लियौं । प्रहरीले हाम्रै गल्ति देखाउने प्रपञ्च समेत रचेको थियो । तर त्यो असफल भयो । जसले हामीलाई अमानवीय ब्यबहार देखाएका थिए । उनीहरूले माफि मागे । हामीले त्यो पनि अस्विकार गरेका थियौँ । तर सबैको सल्लाह अनुसार हामीले स्विकार गरेका हौँ ।

हाम्रो एकरातको अनुभवले पनि हिरासत भित्र मानव अधिकार हनन्का घटना धेरै हुँदा रहेछन् भन्ने थाहा पाइयो । हिरासतमा सबै अपराध गरेर गएका पनि हुँदैनन् । हिरासतमा त अनुसन्धानका लागि राखिएको हुन्छ । तर प्रहरीले बर्दीको दम्भमा दादागिरी देखाउँदो रहेछ । सम्बन्धित पक्षले हिरासतमा अनुगमन गर्न आवश्यक छ । साथै मानवअधिकार आयोगले पनि हिरासत भित्र भएको मानव अधिकार हनन्को विरुद्धमा छिटोभन्दा छिटो छानविन गर्न आवश्यक छ ।

 

adv-single
सम्बन्धित समाचार

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

आज नेपाल आउँदै जापानकी विदेशमन्त्री, यस्तो छ भ्रमण कार्यसूची

काठमाडौँ । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...