काठमाडाैँ । नेपालमा औँलामा गन्न सकिने बौद्धिकको सूचीमा पर्छन् समाजशास्त्री चैतन्य मिश्र । त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र–मानवशास्त्र विभागका संस्थापक विभागीय प्रमुख भएपछि समाजको अध्ययन, विश्लेषण, शिक्षण र लेखनमा चार दशक बिताएका उनी नेपाली समाजशास्त्रका आफैमा एक ‘स्कुल’ हुन् ।
सन् १९७८ मा अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडाबाट विद्यावारिधि मिश्रले त्रिभुवन विश्वविद्यालयमा ३५ वर्ष प्राध्यापन गरेका थिए । राष्ट्रिय योजना आयोगको सदस्य तथा पछिल्लो समय नीति अध्ययन प्रतिष्ठानको अध्यक्षसमेत भएर काम गरेका मिश्रका ऐस्सेज अन नेपाली सोसाइटी, पुँजीवाद र नेपाल, बदलिँदो नेपाली समाज, लोकतन्त्र र आजको माक्र्सवादलगायत किताब प्रकाशित छन् । प्रेम, विवाह, व्यक्तिगत स्वतन्त्रता र सामाजिक बन्धनलगायत विषयमा समाजशास्त्री चैतन्य मिश्रसँग गरिएको कुराकानी ।
प्रेमको विषयमा कुरा गर्दा नेपाली समाजमा भएका प्रेम दिवसहरू अक्षय तृतीया, विजया दशमीमा पर्नेभक्तपुरको खड्ग जात्रा, यःमरि पूर्णिमाको भोलिपल्ट पर्ने मतिना पारु अर्थात् प्रेमको प्रतिपदाजस्ता प्रेम दिवसबारे सोही समुदायलाई नै विरलै थाहा छ । तर सन्त भ्यालेन्टाइनको जन्मदिनमा मनाइने प्रेम दिवसप्रतिको आकर्षण चाहिँ किन यति धेरै होला ?
–प्रेम थरिथरिको हुन्छ । हामी सामान्यतया रोमान्टिक वा यौनिक प्रेमको धेरै कुरा गर्छौं । जस्तो तपाईंले भ्यालेन्टाइन वा अरू प्रेम दिवसहरूको कुरा गर्नुभयो । त्यस बारेमा पहिला मैले पुँजीवादको कुरा गरेँ । तर वास्तवमा पुँजीवादको कुरा मात्रै होइन । यो यस्तो समाज वा यस्तो ऐतिहासिक परिस्थितिको कुरा हो जहाँ व्यक्तिगत चिनारी उभारमा आउँछ । त्यसलाई परिवार, गोत्र, कुलघरान आदिले नथिचेको, आफ्नै घरका बाआमाले नथिचेको एक जना व्यक्ति व्यक्ति भएर रहन सकेको अवस्थामा प्रेम विवाह हुने हो । भ्यालेन्टाइन भनेको त्यस्तो बेलाको प्रेम हो । तपाईंले भनेको नेपाली समाजको कुराका साथै अलि पहिला सीताले स्वयंवर रोजेको कुरा होला, बीपी कोइरालाले लेखेको सुम्निमाकी लिम्बु महिलाले गरेको उदात्त प्रेमको कुरा होला ।
भ्यालेन्टाइन डेको चर्चा के हो भने, हामीलाई शक्तिशाली सभ्यताबाट आएका हरेक कुरा प्यारो छ ।
अङ्ग्रेजी भाषा प्यारो छ, पश्चिमाका सबै चालचलन प्यारो छ । विश्वमा जुन सभ्यताको दबदबा छ त्यो सभ्यता हामी सबैमाथि हावी हुन्छ । त्यही क्रममा भ्यालेन्टाइन दिवस आएको हो । त्यो सभ्यताले जीवनको हर क्षेत्रमा थिचेको छ, प्रेममा मात्रै होइन । सबै कुरा उताको सिकिरहेका छाँै । त्यसलाई वैध, जायज भन्ठान्छाँै । त्यसको नजिक हुन पाउँदा हामीलाई शक्ति आर्जन गरेको महसुस हुन्छ । ‘त्यो चाहिँ वैश्विक कुरा हो, हामी स्थानिक हौँ’ भन्ने सोच्छौँ । हुन त त्यो पनि स्थानिक नै हो, तर उनीहरूको वैश्विक प्रभुत्व भइसकेपछि त्यसले विश्वव्यापी प्रभाव जमायो । हामी स्थानिकमा झ¥यौँ ।
प्रेमको स्वरूप पुँजीवादमा र समाजवादमा कस्तो कस्तो हुन्छ ?
एकताका चीनमा माथिल्लो वर्गका मानिससँग विवाह गर्न हुन्न भन्ने कुरालाई बेसरी फैलाइयो राज्यद्वारा । तर धेरैजसो मान्छेले त्यसलाई मतलव नै गरेनन् । प्रेमले जित्यो त्यहाँ कम्युनिज्मलाई । केटाकेटीको बीचमा आफ्नो वर्गको बिहे गर्नुपर्छ भन्ने कुरा थियो । सन् १९६० सम्म त्यो बलियो रूपमा रहयो । तर मानिसहरूले अटेर गर्दै गए । त्यसपछि राज्यलाई यो हामीले धान्न सक्ने कुरा रहेनछ भन्ने लाग्यो होला । रुसको मलाई थाहा भएन । तर त्यस्तै भएको हुनुपर्छ भन्ठान्छु म ।
जहाँसम्म पुँजीवादको कुरा छ, पुँजीवादले ठूलो हुन्डरी ल्यायो, मान्छेहरू गाउँबाट विस्थापित भए । मानिस एक ठाउँमा जन्मिन्छ, अर्को ठाउँमा पढ्छ, अर्को ठाउँमा काम गर्छ । जीवनमा सातआठ ठाउँमा चहार्छ । उसले सङ्घर्ष सुरु गर्छ, त्यसलाई सङ्घर्ष नभनेर अवसर पनि भन्न सकिने भयो । पुँजीवादको पनि चरण चरण हुन्छ
(घट्दो पुँजीवाद, चढ्दो पुँजीवाद) । अहिले गरिरहेको चढ्दो पुँजीवादको कुरा हो । चढ्दो पुँजीवादमा काम पाउने हुन्छ । काम पाएनन् भने सरकारले बेरोजगारी भत्ता दिन्छ । एक्लै बाआमालाई छोडेर, बाआमामा भर नगरेर बाँच्न सजिलै सकिन्छ । काम पाउने आम्दानी हुने भएपछि त हुन्छ नि । त्यसकारण अहिलेको अमेरिकी नागरिकले बाआमाको सम्पत्तिको लोभ गर्दैन । उसलाई के सिकाइएको हुन्छ भने यो सबै तैँले नै गर्ने हो । बाआमाले दिँदैनन् ।
अठार वर्षसम्म बाआमाले हेर्ने हो, अलि सम्पन्नले बाइस वर्षसम्म हेर्छन्, कलेजसम्म । हैन भने अठार वर्षमा बाआमाको छोराछोरीप्रतिको जिम्मेवारी सकियो । नेपालबाट एक दुई वर्षको उमेरमा अमेरिका गएको बच्चाले साथीहरूसँग कुरा गर्दा ‘मेरो बाउको घर भन्थ्यो रे’ । मेरो घर भन्दैन उसले । अब उसले ‘आफ्नो घर आफै बनाउँछु, अहिले पो म बच्चै छु’ भन्ने सेन्स बोक्यो उसले । उसको व्यक्तिवाद, उसको व्यक्तित्व उभारमा आउँदै छ । त्यस्तो बेलामा बाआमाले केटी खोजेर हुँदैन उसलाई ।
मानिस व्यक्ति भएर रहन सक्ने ठाउँ, व्यक्ति रहेर गरिखान सक्ने बेला वा समाज वा युगमा प्रेम गर्ने या नगर्ने व्यक्तिको कुरा हुन जान्छ । आफैले श्रम गरेर जसले आम्दानी गर्छ (व्यक्तिवादिता भनेर हामीले नकारात्मक तरिकाले हेर्छौं त्यसरी हामीले हेर्न पर्दैन) वा व्यक्ति उभारमा भएको बेलामा प्रेमविवाह हुन्छ ।
दास युगमा कसरी प्रेम हुन्थ्यो होला ?
–प्रेम एउटा कुरा हो, प्रेम विवाह अर्को कुरा हो । दास युगमा व्यक्तिहरूको सामाजिक अवस्था उस्तै भएको हुँदा प्रेम त हुन्थ्यो होला । एकै ठाउँमा, उस्तै उस्तै सामाजिक अवस्था भएको, एकअर्कासँग सँगै काम गर्ने पनि हुँदा प्रेम हुनु स्वाभाविक पनि हो । तर जहाँसम्म विवाहको कुरा छ, कति बच्चा पाउने वा बच्चालाई नाम दिने कुरा चाहिँ मालिकको कुरा हो । विवाह गराउने, सकेसम्म धेरै बच्चा जन्माउने व्यवस्था मालिकले गथ्र्यो (दास युगमा बच्चाको माग बढी हुन्छ, किनभने श्रमको मूल्य हुन्छ । त्यही कारण दासभन्दा दासी महँगी हुन्थे ।)
नेपालको कृषि समाजमा बाआमाले बुहारीलाई बच्चा जन्माउन कर गर्ने कुरासँग त्यसलाई दाज्न सकिने भयो । अझ छोरै जन्माइदिनुपर्ने । कुनै समुदायमा बढी होला कुनैमा केही कम होला तर नेपालका सबै समुदायमा त्यो छ । अहिले बिस्तारै कम हुन थालेको छ तर छ । जति धेरै भयो उति बेस, छोरो पाए झन् बेस । दासदासीको पनि स्व हुँदैन, बुहारीको पनि हुँदैन, छोराकै पनि स्व हुँदैन बाआमाले थिचेको समाजमा ।
सामन्तवादी युगमा पनि ‘म छु र त्यो छ । म नभई उसको उपस्थिति छैन’ भन्ने परिकल्पना हुन्छ घरमुली पुरुषको । यस्तो समाजमा घरमुली पुरुषको नजरबाट दूर हुन सक्दैनन्, बुहारी, श्रीमती, दिदीबहिनी पनि । दाजुभाइले अर्कोसँग विवाह गरी भनेर मार्छन्, मारेका छन् । घरका महिलाले बाहिरी संसार नदेखोस्, बाहिरका मान्छेसँग उसको सम्बन्ध नहोस् भन्ने हुन्छ । त्यस्तो अवस्थामा प्रेम गर्नु महापाप हो, हुनुहुँदैन भन्ने हुन्छ । प्रेम गरे मारिदिन्छन्, सिध्याइदिन्छन् भन्ने हुन्छ । जीवनभन्दा ठूलो कुरा प्रेम होइन भन्नेतर्फ मानिस पुग्छ ।
प्रेम जोडीको कुरा गर्दा रोमियो–जुलिएट, लैला–मजनु, मुना–मदनको उदाहरण दिने गरिन्छ । मानिसको वास्तविक जीवनमा त्यस्तो प्रेम सम्भव होला ? सामान्यीकरण गर्न मिल्ला कि नमिल्ला ?
– पहिलो कुरा त्यस्तो प्रेम सम्भव हुन्छ, भइरहेको पनि छ । सँगसँगै जोडीहरू मरिइरहेका पनि छन्, एक्ला एक्लै मरिइरहेका पनि छन् । अपवाद नै भए पनि त्यो हुन्छ । अर्को कुरा प्रेममा परेपछि मानिसको व्यक्तित्व हराउँछ । हाम्रो समाजमा एउटै ज्यान भनिन्छ नि त, त्यो अवस्थामा पुगेपछि रोमियो–जुलियट वा लैला–मजनु जस्तो एकसाथ मर्नु वा एकका लागि अर्को मर्नु स्वाभाविक हुँदै जान्छ । दुई जनाबीचको दूरी पटक्कै नभएको अवस्थामा त्यसो हुनु स्वाभाविक हो ।
यस्तो प्रेमलाई प्लाटोनिक लभ भन्न मिल्छ ?
– प्लाटोनिक भनेको गैरयौनिक लभको कुरा होला । त्यसरी पनि हुन सक्ने भयो, यौनिक पनि हुन सक्ने भयो । प्रेममा यौन भन्ने कुरा एउटा पाटो मात्रै हुने भयो । खासमा यो भावनाको कुरा हो । आधुनिक युगमा काम र आम्दानी, जीवन गुजार्ने मुख्य बाटा छन् । काम र आम्दानीले छुट्टा छुट्टै बाँच्ने र बाआमाबाट टाढा हुने, कसैसँग पनि सघन सम्बन्ध बन्न नदिने प्रक्रिया छ । अब त्यहाँ श्रीमान श्रीमतीको प्रेम राखौँ, त्यो प्रेम गम्भीर छ, परेवा परेवी भनेजस्तो दुईजना चुच्चो जोडिरहेका हुन्छन् । सधैँ विश्वास दिलाइरहनुपर्छ, म अर्कोसँग लागेको छैन भनेर । फोन गरिरहनुपर्छ, दैनिक फोन भएन भने त के हो के हो भन्ने हुन्छ । सम्बन्धको खडेरीमा दुईजना उभिएका छन्, सम्बन्धको जग चाहिँ कमजोर छ । कमजोर कसरी छ भने उनीहरू जहाँ काम पाइन्छ त्यहाँ जानुपर्ने हुन्छ, छोराछोरी र परिवारले बाँधेर राख्दैनन् । जसले गर्दा सम्बन्ध विच्छेदका घटना बढ्छन् । यसरी सम्बन्ध विच्छेद हुनमा महिलाको स्वतन्त्रताले ठूलो भूमिका खेलेको छ गएको पचास साठी वर्षमा । महिलाहरू आफ्नै खुट्टामा उभिन्छु भन्ने हुँदै गएका छन् । म थिचोमिचोमा बस्दिनँ, म स्कुल जान्छु, कमाउँछु खान्छु, मन लागे छोराछोरी पाउँछु, मन नलागे पाउँदिनँ, विवाह पनि मन लागे गर्छु नलागे गर्दिनँ भन्न सक्ने महिला अब उल्लेख्य भए । भनेपछि अब पुरुषले बाँधेर राख्न सक्दैन त्यो महिलालाई ।
बिहे भनेको महिलाले सहकार्य गर्न आएको हो । उसको चित्त नबुझे सहकार्य नगर्न पनि सक्ने भयो, होइन ?
– अमेरिका युरोपका महिलाले सोच्छन् त्यसरी । हाम्रोतिरका महिलाले अझै त्यसरी सोच्दैनन् । हाम्रोमा त अझै एकाकार नै हुने हो, लहरो हुने, एसिमिलेट हुने, आश्रित हुने हो । हाम्रो सामाजिकीकरण नै त्यस्तै छ । लोग्नेको थर नै लेख्ने, जात नै परिवर्तन हुने भनेपछि महिलाको पहिचान नै पुरुषमा विलिन हुने भयो । यस्तो अवस्थामा महिलाको व्यक्तित्व गनिँदैन । एक तरिकाले परिवर्तनशील पनि तर त्यो परिवर्तन दबाबपूर्ण हुन्छ किनभने श्रीमान्को घरमा गएर बस्नुपर्ने हुन्छ । पुरुषले आम रूपमा यस्तो परिवर्तनशील हुनुपर्ने कुरामा कल्पना पनि गर्न सक्दैन । तर महिलाहरू म अरूको घरमा जाने नै हो भन्ने मानसिकतामा हुर्किएका हुन्छन् ।
ममता, करुणा वा बाले छोरीलाई गर्ने प्रेम, गुरुले चेलीलाई गर्ने, चेलीले गुरुलाई गर्ने प्रेमजस्ता कुरालाई पुँजीवादले कसरी प्रभाव पारेको छ ?
– बच्चासँगको सम्बन्धमा पनि, रुखबिरुवा वा जनावरसँगको सम्बन्धमा पनि प्रेम हुन्छ । किसानलाई खेतीपातीका बिरुवासँग प्रेम हुन्छ, म भइनँ भने त्यो मर्छ भन्ने हुन्छ । मेरी एउटी छोरी मात्रै छिन्, आजभोलि म छोराछोरीको माया भनेको के रहेछ भनेर रियलाइज गरिरहेको हुन्छु । प्रेम भनेको जिम्मेवारी रहेछ, ‘मैले उसका लागि केही गरिदिनुपर्छ, जुन मैले मात्रै गरिदिन सक्छु, अरूले सक्दैन’ भन्ने महसुस हुने रहेछ । उक्त जिम्मेवारीको अर्को नाम प्रेम हुने रहेछ । मलाई त्यो प्रेम गर्न, उक्त जिम्मेवारी लिन मन परेको छ । भनेपछि यो केटा र केटीको मात्रै प्रेम हुने होइन ।
अब विस्तारै कतिपय मानिसले जनवारहरूको मासु खान छोडेँ । कोभिडपछि लहरै छ, शाकाहारी बन्ने । हुन त म यस्ता विषयमा कुनै निष्कर्षमा पुगेको छैन । तर सोच्छु प्रेम भनेको कुरा ऐतिहासिक पनि रहेछ । अहिलेको पृथ्वी यस्तो विन्दुमा आइपुगेको छ कि रुख, बिरुवा वा जनवारसँग पहिलाको भन्दा बढी आशक्ति नदेखाई बाँचियो भने त्यो खतराजनक हुने भयो । यिनीहरूलाई प्रेम गरिएन भने आफैलाई कालान्तरमा हानि हुने भयो । त्यसैले आफूलाई प्रेम गर्ने भनेको उनीहरूलाई पनि प्रेम गर्ने हो । त्यसैले प्रेम भनेको केटाकेटीको बीचमा मात्रै हुने कुरा होइन ।
अहिले प्रेम फास्टफुड जस्तो छ भन्ने गरिन्छ । किन यस्तो हुन्छ ?
मैले त्यसरी त सोचेको थिइनँ । सम्बन्धहरू प्रगाढ नहुने तर सम्बन्ध धेरैसँग हुने वा त्यसमध्ये केही समय कोहीसँग प्रगाढ हुने अनि कम हुने फेरि अर्कोसँग प्रगाढ सम्बन्ध हुने अवसर बढेको हो पहिलाको हेरीकन । सहरको निर्माण, सहरीकरण, सहरको जीवनसँग जोडिएको होला । एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने कुरासँग गाँसिएको होला । अहिले हामीले कुरा गरिरहेको कलेज स्तरका केटाकेटी र भर्खर काम गर्दै गरेका ३०–३५ वर्षका मानिसको कुरा हो । अब उनीहरूमा एकअर्काबिना पनि बाँच्न सक्छु, किनभने मैले सामलतुमल त भिरिसकेको छु, सीप पनि छ, काम पनि छ, पैसा पनि छ । अनि सधँै यहीसँग टाँसिएर बस्नपर्ने कारण के छ र भनेर सोच्ने पनि यही बेला हो । त्यो सोच्ने मौका छ ।
कतै यो प्रेम नै पो होइन कि ? शारीरिक आकर्षण मात्रै पो हो कि ?
– अलिकति केटाहरूको सन्दर्भमा त्यस्तो हुन्छ होला । केटीहरूको सन्दर्भमा कम हुन्छ । किनभने म ऊबिना बाँच्न सक्छु कि सक्दिनँ भन्ने हिसाबकिताब त मानिसले गरिरहेका हुन्छन् । विवाह गरिसकेपछि परिवार यस्तो बनाउनुपर्छ भन्ने एउटा कुरा हो तर त्यस्तो भएन भने म ऊबिना रहनै सक्दिनँ त वा उसले जेजे भन्छ त्यही त्यही गर्दै जान्छु त भन्ने प्रश्न त उठ्छ नि फेरि । त्यसकारण पहिलाको दाँजोमा विवाह जीवनभरका लागि भन्ने अवधारणा कमजोर भयो भन्ने लाग्छ । खासगरी महिलाहरूको सन्दर्भमा, पुरुषको त पहिला पनि कमजोर थियो । दुई वा बढी श्रीमती पनि हुन्थे ।
जहाँसम्म बहुसम्बन्धको कुरा, एउटा उमेरमा हुन्छ होला । पुरुषहरूको धेरै होला, महिलाहरूको कम होला । तर एकसाथ बहुसम्बन्ध टिकिरहँदैनन् । बरु एउटासँग केही समय हुने, त्यसपछि अर्कोसँग सम्बन्ध हुने हुन्छ, क्रमबद्ध रूपमा भनेको मैले । बहुसम्बन्धमा पनि पुरुषहरूको इतिहास नै छ लुकाएर राख्दासम्म केही फरक पर्दैन । मुख्य त थाहा हुँदैन भन्ने हुन्छ । थाहा नै भए पनि एक रातको सम्बन्ध त हो भन्ने हुन्छ । बाहिर पनि ‘वन नाइट स्टे’ भन्ने हुन्छ । पुरुषले चाहिँ एक रातको सम्बन्ध हो भनेर सोच्छ । श्रीमतीहरूले पनि माफी दिन्छन् युरोप अमेरिकाको कुरा हो भने । महिलाले पनि नराम्रो त भयो तर त्यसले मसँगको सम्बन्ध टुट्ने नै त होइ, मलाई छोड्न खोजेको त होइन भनेर माफी दिने चलन छ । अहिले केटाहरूले पनि माफी दिने चलन बढेको छ । नेपालमा पनि बढिरहेको छ ।
हाम्रो समाजमा उखानै छ, गुन्द्रुक पकाउन पर्दैन, साली फकाउन पर्दैन । तर भाउजू र देवरको सम्बन्ध फेरि आमाछोराको जस्तै पवित्र मानिन्छ । किन यस्तो हुन्छ ?
– त्यो कुरा कुनै कुनै समुदायमा छ कुनै कुनै समुदायमा छैन । थारू समुदायमा त्यस्तो हुँदैन । दुईवटा विवाह गर्दा दिदीबहिनी विवाह गर्ने चलन थियो राजा महाराजाको घरमा । कलह कम हुन्छ भन्ने विश्वास थियो । अहिले त्यो वास्तविकतामा धेरै कम भइसकेको छ । पहिला महिलाहरू चाँडै मर्ने, बच्चाबच्ची धेरै हुने उनीहरूलाई हेर्न बहिनी ल्याउँदा अलिकति सहज पनि बन्थ्यो होला । अधिकार जमाउने भन्ने हाम्रो भाषाको कुरा भयो । तर घरबार जोगाउन, बच्चाबच्ची हेर्न त्यस प्रकारको सम्बन्ध सहज हुन्थ्यो होला । त्यसो भन्दैमा यौन सम्बन्ध भइहाल्छ भन्ने मलाई लाग्दैन । अधिकांश त्यो कहावत वा गीत गाउने कुरा हो जस्तो लाग्छ ।
ओशो रजनिश विवाह संस्था जरुरी छैन भन्छन् । फ्रेडेरिक एङ्गेल्सले पनि ‘परिवार र निजी सम्पत्ति’मा भनेको कुरा करिब यही हो । विवाह संस्थाबिना प्रणय सम्बन्धको अवस्था के होला हाम्रो समाजमा ?
– निजी सम्पत्ति नहुने र महिला पुरुष वा सबै प्रकारको समानता हुने हो भने ठिकै होला । समाज राम्ररी चल्ला । तर निजी सम्पत्तिको अन्त्य पनि नहुने, असमानता रहिरहने अवस्थामा ओशो वा ऐङ्गेल्सले भनेजस्तो समाज चल्दैन । चल्नका लागि सबैको हैसियत उस्तै हुनुप¥यो । मेरो छोराछोरीलाई अरूले ‘फलानोका छोराछोरी’ भन्ने स्थिति आउनुभएन । आफ्नै छोराछोरीसरह व्यवहार गर्नुप¥यो । मैले पनि अरूको छोराछोरीलाई मेरै बच्चा हो भनेर व्यवहार गर्नुपर्यो । त्यसका लागि लैङ्गिक समानता पनि चाहियो, आर्थिक समानता पनि चाहियो । अनि व्यापक दृष्टिकोणको विकास पनि हुनुप¥यो । अहिलेको हाम्रो समाजमा विवाह एकनिष्ठ त छ तर साँघुरो छ, व्यापकता छैन ।
विवाह महिला–पुरुषबीच यौन सम्बन्ध राख्न लाइसेन्स दिने संस्था हो भन्ने धारणा छ । यो कस्तो धारणा हो ?
– यौन सम्बन्ध पनि हो । एकै ठाउँमा बस्ने, बच्चा जन्माउने हुर्काउने, सँगसँगै आम्दानी जम्मा गर्ने पनि हो, जसले कमाए पनि । त्यसकारण त्यो यौन सम्बन्धको कुरा मात्रै पनि होइन । यौनलाई मात्रै लिएर कुरा गर्ने हो भने साह्रै साँघुरो हुन्छ । अहिलेका श्रीमान्–श्रीमती त मित्र हुन् । सधैँ सम्भोग गरिरहँदैनन् । त्यसकारण त्यसरी यौन सम्बन्धको कसीमा मात्रै हेरियो भने साँघुरो परिकल्पना हुन्छ ।
साहित्य, कला सङ्गीतमा यौनका कुरालाई निकै महìवसाथ जोडिन्छ । त्यो किन हुन्छ होला ?
यौन महत्ववपूर्ण हो र कति अर्थमा वर्जित कुरा पनि हो । वर्जित कुरालाई प्रकारान्तरणले उजागर गर्ने चलन हुन्छ । लुकाउनुपर्ने कुरालाई अलिकति उजागर गर्दा रमाइलो हुन्छ । त्यसकारणले दुई अर्थ लाग्ने शब्दहरू, दृश्यहरू (शब्द नभए पनि दृश्य देखाइन्छ, दुईवटा फूल जुधेका) राखिन्छ । अलिकति खुल्दा सम्पूर्ण कल्पना गर्न सकिने, अलिकति खोल्दा हरेक मानिसको दिमागमा त्यो कुरा खेल्ने पनि होला । अनि मानिसहरू जम्मा भएका हुन्छन्, मानिस त्यस्तै ठाउँमा जम्मा हुन्छन् जहाँ यौनिक कुराहरू हुने सम्भावना हुन्छ ।
यतिधेरै यौन भावना उजागर हुने कुराले हाम्रो समाजमा यौन दमित छ, फिल्म, गीत, सङ्गीत वा कलाले त्यही दमित भावनालाई उजागर गरेको भन्न सकिन्छ ?
– सकिन्छ । दमित भएको कुरालाई गीत सङ्गीत वा कलाले एउटा सानो निकास निकाल्ने र त्यसले कल्पना गर्ने ठाउँ दिन्छ । अनि दमित हुने कुरा आम छ, दमित भावनालाई निकास दियो भने हामी त्यहाँ बग्न तयार छाँै केही समयका लागि । त्यसले रमाइलोको साथसाथै हामी सबै त्यही डुङ्गामा छाँै भन्ने वा हामी सबै एकै हौ भन्ने सामूहिकताको पनि आभास दिन्छ । सबै जना एकाकार हुन्छाँै पनि, किनभने त्यो सबैको दिमागमा भएको भावना हो, त्यसमा हामी रमाउँछौँ ।
अहिलेको युगमा पनि हाम्रो समाज वा विश्व नै
लैङ्गिक अल्पसङ्ख्यकप्रति किन अनुदार भएको होला ?
– पहिलो कुरा त हामीलाई सिकाइएन त्यो कुरा । लिङ्ग भनेको दुईवटा मात्रै हुन्छ भनियो । अर्को कुरा समाजमा कुनै बच्चा जन्मिन्छन् दुवै लिङ्ग भएका । त्यसलाई बाआमाले, डाक्टरले एउटा लिङ्ग छैन भन्ने ठान्छन् वा काटेर फाल्छन्, सिलाइदिन्छन्, चिरिदिन्छन् वा टालिदिन्छन् । यो संसारभरि हुन्छ, नेपालको शिक्षण अस्पतालमा पनि गर्छन् । कमै बच्चा जन्मन्छन् तर हुन त हुन्छ नि । समाजमा ‘यस्तो हुनै सक्दैन, यो के राक्षस पाएको, दानव जन्म्यो’ भन्ने सोचिन्छ । हुन त यो बच्चाको पछिको जीवन कसरी बिताउला भन्ने चिन्ता पनि होला बाआमाको । तर पृथ्वी नै पुरुष र महिलाले ढाकेको छ भन्ने सोचका कारण महिला र पुरुषबाट अलिकति पनि यताउता प¥यो भने प्रकृतिविरुद्ध ठानिदिन्छन् । अनि उसलाई औषधिमुलो गरेर त्यसलाई पुरुष बनाउने कि महिला बनाउने कि ! होमोसेक्सुअल सम्बन्ध भयो भने त्यसलाई कसरी छुटाउने, अनेक झार फुक, मनोविमर्श गराउने चलन छ । युरोप, अमेरिकामा लगभग सकियो, मुस्लिम राष्ट्रतिर यो समस्या धेरै छ । अझै पनि घृणा गर्ने, मार्ने, गैरकानुनी मान्ने, प्रकृतिविरुद्ध ठान्ने चलन छ ।
अनि धर्मले पनि महिला र पुरुष हुन्छन् भन्ने कुरा सिकायो । ख्रिस्तान धर्ममा त छँदै छैन, बरु हाम्रोमा छ । थारू संस्कृतिमा पनि स्वीकार्य छ । कतिपय क्रिस्चियन समाजमा यस्तो सम्बन्ध राख्न पाइन्छ तर दम्पती भएर बस्न पाइन्न, चर्चमा विवाह गर्न मिल्दैन भन्ने मान्यता छ ।
कतिपयलाई यो अप्राकृतिक जस्तो लागे पनि त्यो प्राकृतिक कुरा हो । समाज खुल्दा खेरी त्यस्ता कुराले ठाउँ पाउँछन् । समाज नखुल्दा त्यस्ता कुराले ठाउँ पाउँदैनन् । अहिलेको समय त्यस प्रकारका सम्बन्धलाई स्वीकार गर्ने हो । त्यसको एउटा आरोपचाहिँ त्यस प्रकारको सम्बन्धबाट बच्चा जन्मिँदैनन् भन्ने हो । तर अहिले बच्चा जन्माउने पनि अनेक तरिका आइसकेका छन् ।
Post Views: 51