झापा । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले विचारको राजनीतिमा गुट हुनु स्वाभाविक भए पनि पार्टी अधिवेशनको तुस अन्य चुनावमा निकाल्ने परिपाटी ठिक नभएको बताएका छन् ।
नेता कोइरालाले झापाको दमकमा आज क्षेत्रीय स्तरका अगुवा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै विचारको राजनीतिमा गुट हुनुलाई आफूले स्वाभाविक रुपमा लिने गरेको भन्दै अधिवेशनको तुस चुनावमा निकाल्छ भने त्यो कांग्रेस हो कि होइन ? भन्दै प्रश्न गरे ।
काँग्रेसमा पहिलो वरियताका नेता बिपी कोइराला भारतमा हुँदा दोस्रो वरियताका नेता सुवणर् शमशेरले राजा र भारतसँग सहकार्य गरेर जानुपर्ने र कृष्णप्रसाद भट्टराईले जेलबाटै जेल बस्न तयार छु तर राजासँग घुँडा टेक्दिन भनेबाट पनि इतिहासले काँग्रेसमा फरक विचार अर्थात् मतान्तर हुने गरेको समेत नेता कोइरालाले बताए ।
कार्यकर्ताहरूले राखेका जिज्ञासाहरूको सम्बोधन गर्दै नेता कोइरालाले पार्टीमा विचारमाथिको बहस अहिले फरक भएर आएको पनि विश्लेषण गरे । कांग्रेस नेता तथा कार्यकर्ता भित्रका अनेक विकृतिहरूको विषयलाई सूक्ष्म रुपमा केलाउँदै नेता कोइरालाले पार्टीका भातृ सङ्गठनहरूको अधिवेशन समयमा नगरिनुलाई लोकतान्त्रिक पार्टीभित्रको अलोकतान्त्रिक व्यवहार भन्दै आलोचना समेत गरे ।
पार्टी सभापति शेर बहादुर देउवाप्रति लक्षित हुँदै नेता कोइरालाले ‘हामी लोकतान्त्रिक हौँ त भन्छौँ, हाम्रो आचरण, व्यवहार लोकतन्त्रवादी छ कि छैन ?’ भनेर प्रश्न समेत गर्न भ्याए । नेता कोइरालाले नेकपा फुटेर अहिले एमाले र माओवादी बन्दैमा कम्युनिष्ट पार्टीका कार्यकर्ताले काँग्रेसलाई भोट देलान् भन्ने काँग्रेसले सोच्नु गलत हुने भन्दै काँग्रेसले निर्वाचन जित्नका लागि सङ्गठन नै माध्यम भएको उल्लेख गरे ।