काठमाडौं । हिन्दु धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्री २०७८ आज मंगलबार धुमधामका साथ मनाइँदैछ । देशभरका शिव मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ । यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणमा वर्णित छ।
पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिले नेपालीहरुको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्दै शुभकामना सन्देश जारी गरेकी छन् ।
उनले भनेकी छन्, ‘नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ, शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भूभाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो, हाम्रो मुलुकका धेरै समुदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको पाइन्छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रीले नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको बताएका छन् । नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उनले हरेक जातजातिका आआफ्ना रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्दै अपनत्व महसुस गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताएका छन् ।
Post Views: 2