विराटनगर । पछिल्लो डेढ वर्षसम्म यता विदेशी मुद्रा सञ्चिति कम भएर अर्थतन्त्र धरायसी रहेको छ । तर अहिले विस्तारै आयात कम हुनुका साथै आम्दानीका विभिन्न स्रोतमा सुधार हुँदा विदेशी मुद्रा सञ्चिति बढिरहेको छ।
पछिल्लो समय पर्यटकको संख्या बढ्दै गएपछि यो क्षेत्रको आम्दानीमा पनि वृद्धि भइरहेको छ । गत सालको तुलनामा यो वर्ष आम्दानी १०७ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि माघसम्म पर्यटकबाट ३२ अर्ब २३ करोड रूपैयाँ आम्दानी भएको तथ्यांक छ। अघिल्लो वर्ष यही अवधिमा १५ अर्ब ५३ करोड ५ लाख रूपैयाँ मात्र आम्दानी थियो।
विदेशी मुद्रा सञ्चितिमा पर्यटन क्षेत्रको आम्दानीले योगदान पुर्याएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालले बताएको छ । विदेशी मुद्रा आम्दानीको मुख्य स्रोतमध्ये पर्यटन पनि एक हो,ु कोभिडका कारण लामो समय थलिएको पर्यटन क्षेत्रको आम्दानी बढेको थिएन। पछिल्लो केही महिनायता भने पर्यटक बढेका छन्। यसले विदेशी मुद्रा सञ्चितिमा पनि योगदान पुर्याएको देखिन्छ।
चालु आर्थिक वर्षको साउनदेखि माघसम्म चार लाख ५७ हजार पर्यटक हवाई यातायात मार्फत नेपाल भित्रिएका छन्। जबकि अघिल्लो वर्ष यही अवधिमा एक लाख २२ हजार हाराहारी मात्र आएका थिए। पर्यटकीय सिजन सुरू हुँदै गर्दा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकले अग्रिम बुकिङ गरिरहेको उपाध्यक्ष पण्डित बताउँछन्। उनका अनुसार महामारीपछि अहिले बल्ल पर्यटक संख्यामा उत्साहजनक वृद्धि देखिएको हो। योसँगै ट्रेकिङ व्यवसायमा उत्साह छाएको छ।
हरेक वर्ष डेढ लाखभन्दा बढी पर्यटक पदयात्रा तथा पर्वतारोहणमा जान्छन्। यस्तो यात्रामा उनीहरूको बसाइ अवधि लामो हुन्छ। यसले उनीहरूको खर्च बढाउँछ। उनीहरूले जति धेरै खर्च गर्छन्, हामीलाई उति फाइदा हुन्छ। पर्यटकको बसाइ लम्बाउन निजी क्षेत्र र सरकारले सहकार्य गरे पर्यटन क्षेत्र थप बलियो हुने र यसबाट मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने छ।
चीनले गत मार्च १५ देखि आफ्ना नागरिकलाई विदेश घुम्न खुला गरेको छ। उसले घुम्नैपर्ने देशको सूचीमा नेपाललाई पनि समावेश गरेका कारण यसले आगामी दिनमा हामीकहाँ चिनियाँ पर्यटक बढ्ने संकेत दिएको छ।सन् २०१९ मा हालसम्मकै सबभन्दा धेरै, ११ लाख ९५ हजार पर्यटक नेपाल आएका थिए। सरकारले भ्रमण वर्ष घोषणा गरेको सन् २०२० मा कोरोना लकडाउन सुरू भयो। त्यसपछि एकैपटक अहिले आएर पर्यटक बढ्न थालेका हुन्।
Post Views: 3