विराटनगर । नर्सिङ अध्ययनरत छात्राहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका-८, मधुमारास्थित मुनलाइट गर्ल्स होस्टेलकी सञ्चालिका मधु रेग्मी पक्राउ परेकी छन् ।
पीडित छात्राहरूले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले राष्ट्रिय डेलीलाई जानकारी दिए । उनका अनुसार पक्राउ परेकी रेग्मीमाथि अभद्र व्यवहारको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
सो होस्टेलमा बसेर विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस, बीएससी नर्सिङ प्रथम वर्षमा अध्ययनरत छात्राहरूमाथि मंगलबार राति होस्टल सञ्चालिका रेग्मीले छात्राहरू बसेको कोठामा पुगेर अभद्र व्यवहार गरेको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा देखिएअनुसार होस्टल सञ्चालिका रेग्मीले सो कोठामा बसेका तीन जना छात्राहरूसँग चैत महिनाको होस्टेल शुल्क ३/३ हजार रूपैयाँका दरले अग्रिम रूपमा बुझाउन भनेकी छन् ।
तर, छात्राहरूले आफूहरू चाँडै नै क्याम्पसकै होस्टेलमा स्थानान्तरण हुने र बसुञ्जेलसम्मको मात्र शुल्क बुझाउने भनेपछि होस्टेल सञ्चालिका रेग्मीले गालीगलौजसहित राति नै होस्टेलबाट निस्कन भन्दै कोठाका सामान छरपष्ट पारेकी थिइन् । पीडित छात्राहरूले फागुनसम्मको शुल्क अगाडि नै बुझाइसकेको बताएका छन् । यस्तै होस्टेल सञ्चालिका रेग्मीले आफूहरूलाई हातपात गरेको समेत उनीहरूले बताएका छन् ।
यसअघि स्वतन्त्र विद्यार्थी युनियन, विराटनगर नर्सिङ क्याम्पस इकाइ समितिले पनि विज्ञप्ति जारी गर्दै होस्टेल सञ्चालिका रेग्मीलाई पक्राउ गरेर कारबाही गर्न माग गरेको थियो ।
यता, विराटनगर नर्सिङ क्याम्पसकी प्रमुख मेनुका भण्डारीले घटनाको भर्त्सना गर्दै पीडकलाई कारबाही हुनुपर्ने बताइन् । जिल्ला प्रहरी कार्यालय, मोरङ परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले क्याम्पसमा देशका विभिन्न जिल्लाहरूबाट अध्ययन गर्नका लागि आउने विद्यार्थीहरूको ठूलो चाप रहेको र हाल सबै विद्यार्थी राख्न होस्टेलको क्षमता कम भएकाले त्यसको व्यवस्थापनमा आफूहरू लागिरहेको बताइन् ।
Post Views: 11