विराटनगर । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सात जनाको मृत्यु भएको थियो भने थप एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ की ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डीएसपी पाठकले जानकारी दिए । किशन राईको उपचारका क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । इलाका प्रहरी कार्यालय, घोरेटारबाट सात जना र हसनपुरबाट पाँच जना गरी १२ जना प्रहरी टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख डीएसपी पाठकले जानकारी दिए । घाइतेको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।
धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको को१ज २५९३ नम्बरको जीप आज बिहान १०:३० बजेतिर उदयपुरको बेलका–७, मैनामैनीमा दुर्घटना भएको थियो । जीपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
Post Views: 2