विराटनगर । विराटनगर-८, मधुमारास्थित मुनलाइट गर्ल्स होस्टेलमा बसेर विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत पश्चिम नेपालका छात्राहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी होस्टेल सञ्चालिका मधु रेग्मी अस्पतालबाट प्रहरी हिरासत ल्याइएकी छन् । कोशी अस्पतालबाट मोरङ सहकारी अस्पताल रिफर गरिएकी उनलाई अस्पतालले डिस्चार्ज दिएपछि हिरासत ल्याइएको हो ।
प्रहरीले फागुन ३० गते पक्राउ गरेर रेग्मीविरूद्ध सोही दिन जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि ५ दिनको म्याद लिएको थियो । तर, रेग्मीले त्यहीबीच आफूलाई स्वास्थ्य समस्या भएको भनेपछि उनलाई सोही दिन कोशी अस्पताल भर्ना गरिएको थियो ।
त्यसको भोलिपल्ट कोशी अस्पतालले उनलाई मोरङ सहकारी अस्पताल रिफर गरेको थियो । मोरङ सहकारी अस्पतालले शुक्रबार डिस्चार्ज दिएपछि उनलाई सोही दिन हिरासत ल्याइएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले राष्ट्रिय डेलीलाई जानकारी दिए । उनका अनुसार रेग्मीविरूद्ध पहिलोपल्ट थप गरिएको म्याद सकिने चरणमा रहेकाले सोमबार पुनः म्याद थप गरेर अनुसन्धान प्रक्रिया जारी राखिनेछ ।
गत फागुन २९ गते राति होस्टेलको एक कोठामा बसेका तीन जना छात्राहरूमाथि होस्टेल सञ्चालिका रेग्मीले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसको भोलिपल्ट पीडित छात्राहरूले जिल्ला प्रहरी कार्यालयमा रेग्मीविरूद्ध जाहेरी दिएका थिए ।
होस्टेल शुल्क अग्रिम रूपमा नतिरेको भन्दै रेग्मीले छात्राहरूमाथि दुर्व्यवहार गरेकी थिइन् । रेग्मीले छात्राहरूलाई गालीगलौज गर्दै कोठामा रहेका शैक्षिक सामग्री तथा ओछ्यानका कपडा छरपष्ट पारिदिएर राति नै होस्टेलबाट निस्कन भनी धम्काएकी थिइन् ।
होस्टेल सञ्चालिका रेग्मीले पीडित छात्राहरूलाई चैत महिनाको होस्टेल शुल्क जनही ३/३ हजार रूपैयाँका दरले अग्रिम भुक्तानी गर्न भनेकी थिइन् । तर, छात्राहरूले आफूहरू केही दिनभित्र क्याम्पसकै होस्टेलमा सर्ने र त्यहाँ स्थानान्तरण नभएसम्मको मात्रै शुल्क तिर्ने भनेपछि होस्टेल सञ्चालिका रेग्मीले दुर्व्यवहार गरेकी थिइन् । पीडित छात्राहरूले रेग्मीले आफूहरूलाई हातपात गरेको पनि बताएका छन् ।
हिरासत छल्न स्वास्थ्य अवस्था सामान्य भए पनि झुटो रिपोर्ट बनाएर होस्टेल सञ्चालिका रेग्मी अस्पताल बसेको भन्दै विद्यार्थी संगठनहरूले जिल्ला प्रशासन कार्यालय, मोरङ घेराउ गरेका थिए । यस्तै उनलाई हिरासत ल्याएर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने तथा होस्टेलको दर्ता खारेज गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।
Post Views: 20