सुन तस्करीमा नाम जोडिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वसभामुखसमेत रहेका महरालाई सोमबार बिहान कपिलबस्तुबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले राष्ट्रिय डेलीलाई जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेका महरालाई आजै काठमाडौं लगिँदैछ ।
विद्युतीय चुरोट (भेप) भित्र ९ किलो सुन लुकाएर तस्करी गरेको आरोपमा अनुसन्धानका लागि महरा पक्राउ परेका हुन् । ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।
जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पुगेको छ । यसअघि सीआईबीले महरालाई ९ किलो सुन तस्करी प्रकरणमा बयान कागज मात्रै गराएर छाडेको थियो । उनका छोरा राहुल महरा भने पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् ।
महराको चिनियाँ तस्कर दाओजिन वाङसँग पटक–पटक कुराकानी भएको सीआईबीको अनुसन्धानमा देखिएको थियो ।
Post Views: 5