विराटनगर । नेपाली कांग्रेस, कटहरी गाउँ कार्यसमितिले गाउँपालिकामा निर्माणाधीन हुलाकी सडक निर्माणमा विभिन्न तीन कार्य गर्नपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
सडक संघर्ष समिति र जिल्ला प्रशासनबीच भएको पूर्वसहमतिअनुसार सडक निर्माणमा कुनै प्रगति नभएको भन्दै कांग्रेस, कटहरीले ध्यानाकर्षणसहित प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो ।
कांग्रेस, कटहरीका सभापति रामकुमार कामतको नेतृत्वमा आएको टोलीले प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईलाई तीनबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
हुलाकी सडकअन्तर्गत कटहरी गाउँपालिकाभित्र पर्ने पश्चिम सिंघिया खोलादेखि पूर्व सिमाना लोहन्द्रा खोलासम्मको बाटोमा गत साउनमा भएको सहमतिअनुसार कुनै कार्यप्रगति नभएको सभापति कामतले बताए ।
कांग्रेसले बाटोका खाल्डाहरू सम्याउनुपर्ने, धुलो भएकाले पानी पठाउने व्यवस्था गर्नुपर्ने, बाटो निर्माणको कार्य द्रुत गतिमा गर्नुपर्ने माग राखेको छ ।
पूर्वसहमतिअनुसार सडक निर्माण नहुँदा अझ बढी जोखिमपूर्ण भई दर्जनौं दुर्घटना भइरहेको तथा दुर्घटनाहरूमा मानवीय क्षतिसमेत भइरहेको कांग्रेसले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
साथै धुलोका कारण सडक छेउछाउ बसोबास गरिरहेका जनसमुदायको स्वास्थ्यमा असर परी विभिन्न रोग लागिरहेको ज्ञापनपत्रमा जनाइएको छ ।
आफूहरूका मागहरूप्रति प्रशासनले ध्यान नदिए सोबाट हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर चैत १५ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत कांग्रेसले दिएको छ ।
Post Views: 288