विराटनगर । मोरङको बेलबारी नगरपालिका-१, भेडा टोलमा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् ।
स्थानीय शर्मीला राईको घरमा विगत चार वर्षदेखि डेरा बस्दै आएका ६० वर्षीय बमबहादुर लिम्बूले आफ्नी श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्यापछि आफूले पनि आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, मोरङ प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालका अनुसार बमबहादुरले बुधबार बिहानको राति धारिलो हतियार (दाउ) प्रहारबाट गीताको हत्यापछि सोही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका हुन् ।
बिहान १:३० बजेतिर घटनाको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुग्दा गीता मृत अवस्थामा भेटिएकी थिइन् भने बमबहादुर गम्भीर घाइते थिए । प्रहरीले घाइते बमबहादुरलाई नोबेल मेडिकल कलेज ल्याएकामा अस्पताल ल्याएको केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतक दम्पती दुवैले दोस्रो विवाह गरेको र पहिलो विवाहमा दुवै पक्षका सन्तान रहेको पाइएको डीएसपी दाहालले बताए । दोस्रो विवाहपछि लिम्बू दम्पतीका ८ वर्षका एक छोरा छन् । बमबहादुरले छोरामाथि पनि आक्रमणको प्रयास गरेका थिए । तर, उनले भागेर ज्यान जोगाए ।
स्थानीयका अनुसार लिम्बू परिवारमा विगतदेखि नै झगडा हुने गरेको थियो । घरायसी झगडाकै कारण घटना घटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीका अनुसार हत्या गरिएकी गीताको शव घटनास्थलमै छ र कानुनी प्रक्रिया पूरा गरी शव उठाउन लागिँदैछ । आत्महत्या गरेका बमबहादुरको शव पोष्टमर्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।
मृतक दम्पतीको स्थायी ठेगाना खुलिनसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 300