काठमाडौं, २४ चैत । दोस्रो चरणको कोरोना महामारी बढ्दै गए पनि एसइईलगायत विद्यालय तहका सबै परीक्षाहरु तोकिएकै समयमा सञ्चालन हुने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले दोस्रो चरणको कोरोना महामारी बढ्दै गए पनि एसइईलगायत सबै परीक्षा तोकिएकै समयमा हुने बताए ।
विगतका वर्षहरुमा चैतसम्ममा एसइई र विद्यालय तहका सबै वार्षिक परीक्षाहरु सम्पन्न हुने भए पनि यो वर्ष भने वैशाख र जेठ विद्यार्थीहरुले नियमित रूपमा पूरै पढ्न पाउने प्रवक्ता शर्माले बताए । आगामी एसइई परीक्षा तालिका आगामी जेठ २०७७ देखि तोकिएको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीले नेपाल प्रवेश गरेसँगै शिक्षा मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउँदै शैक्षिक गतिविधिहरु अगाडि बढाउन विभिन्न मन्त्रालयले कार्ययोजना निर्माण गरेको छ ।
पछिल्लो समय कोरोना महामारीमा विद्यालय सञ्चालन सम्बन्धित कार्यढाँचा २०७७ निर्माण भइसकेको अवस्थामा तत्काल कोरोना महामारीको जोखिम बढेपनि विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने सन्दर्भमा स्थानीय तहले निर्णय गर्नेछ । विद्यालय तहका अन्य वार्षिक परीक्षा पनि पछि सर्नसक्ने देखिएको छ । कक्षा ११ को परीक्षा विद्यालयबाट हुने मन्त्रालयका प्रवक्ता शर्माले बताए ।
कक्षा ११ मा केही नयाँ पाठ्यक्रमहरु थपिएका कारण समस्या देखिन सक्नेप्रति पनि मन्त्रालयले समन्वय गरिरहेको प्रवक्ता शर्माले जानकारी दिए ।
Post Views: 13