विराटनगर । कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा मृत्यु भएका पदम लिम्बूको शव यात्रामा शनिबार विराटनगरमा झडप भएको छ । झडपका क्रममा ६ सुरक्षाकर्मी र ६ प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन ८१ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीले रोडशेष चोकबाट दक्षिणतर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको र स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको प्रहरी मोरङका एसपी दीपक पोखरेलले बताए । उनले तीन जना नेपाल प्रहरी र तीन जना सशस्त्र प्रहरी घाइते भएका र आन्दोलनरत पक्षका ६ सामान्य घाइते भएको बताए ।
गत चैत ५ मा विराटनगरमा भएको पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते लिम्बूको चैत १० मा उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । आन्दोलनरत पक्षले सहिद घोषणाको माग गर्दै शव बुझ्न नमानेपछि सरकारले २४ चैतमा सहिद घोषणा गरेको थियो । आन्दोलनरत पक्षले उनको शव बुझेपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार मृत्युको २९ दिन पछि शनिबार अन्तिम संस्कारका लागि धरान र इटहरी हुँदै श्रद्धाञ्जलीका लागि विराटनगर ल्याएको थियो । प्रदर्शनकारीले रोडशेष चोकमा शान्तिपूर्ण श्रद्धाञ्जलीसभा गर्ने भनिएको थियो ।
लिम्बूको शव बोकेको गाडी रोडशेष चोकमा राखेर श्रद्धाञ्जलीसभाको तयारी गर्ने क्रममा प्रदर्शनकारीको एक हूल निषेधित क्षेत्र तोड्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ बढेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको बताएको छ । मृतक लिम्बूको शनिबार नै बेलबारीमा अन्तिम संस्कार गरिएको आन्दोलनरत पक्षले जनाएको छ । गत फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम बहुमतका आधारमा कोशी राखेपछि पहिचान पक्षधर दल र संस्था प्रदेश १ पुनः नामांकन संघर्ष समिति गठन गरी आन्दोलनरत छन् ।
Post Views: 2