विराटनगर । अनुचित लेनदेन (मिटरब्यार्जं) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ।
आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गरी मिटरब्याज पीडितहरूबाट निवेदन आह्वान गरिएको जनाएको छ। यसका लागि आयोगको कार्यालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जनाएका छन्।
आयोगले भनेको छ, ‘पीडितहरूले आफ्नो भएसम्मका सबुद प्रमाण सहित भएको ब्यहोरा खुलाई अनलाइनबाट सीधै यस आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध छ।’
यसका लागि सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडत सहायता कक्ष पनि स्थापना गरिएको छ। सहायता कक्षमा निःशुल्क फारम पाइने र भर्न नसक्नेका लागि जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भरिदिने व्यवस्था गरिएको छ।
निवेदन दिन आयोगले १५ दिनको म्याद दिएको छ। यही वैशाख १७ देखि ३१ गतेसम्म निवेदन सकिनेछ।
आयोगले वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गर्दै छ। त्यही दिनदेखि कामकाज पनि शुरू हुने जनाएको छ।
तराई–मधेशका जिल्लाबाट आएका मिटरब्याज पीडितले काठमाडौंमा आन्दोलन गरेका थिए। त्यसपछि गत चैत २० गते सरकारले कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले कामकाज शुरू गरिसकेको अध्यक्ष कार्कीले जानकारी दिए।
Post Views: 4