विराटनगर । विराटनगर-८, मेनरोडस्थित भानु +२ कलेज (भानु मेमोरियल इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल) ले पूर्वविद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेजले महेन्द्र होटेल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी पूर्वविद्यार्थीहरूलाई सम्मान गरेको हो ।
विभिन्न शैक्षिक सत्रमा कलेजबाट कक्षा १२ को अध्ययन पूरा गरी हाल देश-विदेशका विभिन्न शैक्षिक संस्थामा उच्चशिक्षा अध्ययनरत ७ जना मेधावी विद्यार्थीहरूलाई सम्मान गरिएको हो । विद्यावारिधि गरिरहेका, अध्ययनरत शैक्षिक संस्थाले लिएका परीक्षामा उत्कृष्ट नतिजा ल्याएका, पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीहरू सम्मानित भएका हुन् ।
कलेजले संयुक्त राज्य अमेरिकास्थित वेस्ट भर्जिनिया युनिभर्सिटीबाट जेनेटिक्स एन्ड बायोटेक्नोलोजी विषयमा विद्यावारिधी गरिरहेका विकास देव, ढाका सेन्ट्रल इन्टरनेसनल कलेज (ढाका युनिभर्सिटी, बंगलादेश) मा एमबीबीएस प्रथम वर्षमा प्रथम भएकी नविना चौधरी, उच्चशिक्षाका लागि पूर्वाञ्चल विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा बीई (सिभिल) तर्फ पूर्ण छात्रवृत्ति पाएकी विमन्ता राईलाई सम्मान गरेको छ ।
यस्तै त्रिभुवन विश्वविद्यालयबाट लिइएको एमबीबीएसतर्फको प्रवेश परीक्षामा उत्तीर्ण भई नेशनल मेडिकल कलेज, वीरगञ्जमा अध्ययन गरिरहेकी कृतिका झा, त्रिविबाट लिइएको बी टेक (खाद्य) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति प्राप्त गरी सेन्ट्रल क्याम्पस अफ टेक्नोलोजी, धरानमा अध्ययन गरिरहेकी सीमा सुवेदी सम्मानित भएका छन् ।
त्यसैगरी मधेस इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्स, जनकपुरबाट लिइएको प्रवेश परीक्षामा बीएस्सी नर्सिङमा पूर्ण छात्रवृत्ति प्राप्त गरेकी मुना खत्री, एमसीईई-२०२४ मा लिइएको प्रवेश परीक्षामा बीएस्सी एमआईटीमा देशभरमा सातौं स्थान हासिल गरी महाराजगञ्ज मेडिकल क्याम्पस (आईओएम) मा अध्ययन गरिरहेका श्रीकान्त चौधरी सम्मानित भएका हुन् ।
सम्मानित विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. दामोदार थापा क्षेत्री र कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठले अबीर, खादा, फूलमाला लगाइदिएर सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमका अवसरमा कलेजले अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजित कविता वाचन, निबन्ध लेखन र चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीहरूलाई पुरस्कृत गरेको थियो ।
सोही अवसरमा कलेजले कक्षा ११ का विद्यार्थीहरूबीच गायन तथा नृत्य प्रतियोगिता आयोजना गरी त्यसमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीहरूलाई पुरस्कृत गरेको थियो । पुरस्कृत विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
Post Views: 25