विराटनगर । गएराति परेको वर्षाका कारण आएको बाढीपहिरोले कोसी प्रदेशमा एकजनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन् । शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् ।
चैनपुर नगरपालिका ४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
यस्तै, संखुवासभाको पाँचखपन नगरपालिका ५ मा एक जनाको शव भेटिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता ऋषिराम कँडेलले जानकारी दिए । त्यसैगरि उता, पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाका अनुसार हेवा १ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा, फिदिम ४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम ४ हेवा खोलाबाट एक जना बेपत्ता भएका छन् । यस्तै, ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् ।
गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा यादव बुढाथोकीकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार वेपत्ता भएका चारै जनाको खोजीकार्य जारी छ । बाढीका कारण विभिन्न स्थानमा पुलहरू पनि बगाएको छ भने सढक समेत अवरुद्व भएको छ ।
Post Views: 2