विराटनगर / शेयर बजार परिसूचक नेप्से आज मंगलबार ६९ अंकले घटेको छ ।
सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ६९ दशमलव शून्य पाँच अंकले घटेर दुई हजार नौ सय ७५ दशमलव ८४ विन्दुमा झरेको छ । मंगलबार बैंकिङ समूहको शेयर २३ अंकले, विकास बैंक समूहको दुई सय पाँच अंकले, व्यापारको एक सय ६ अंकले, होटलको ४६ अंकले र जलविद्युत् समूहको शेयर एक सय २४ अंकले घटेको छ । यस्तै फाइनान्सको एक सय एक अंकले, माइक्रोफाइनान्सको एक सय ६४ अंकले, बीमा समूहको चार सय ४७ अंकले, निर्जीवन बीमा समूहको तीन सय ७२ अंकले, उत्पादनको एक सय ९८ अंकले र अन्य समूहको शेयर ६२ अंकले घटेको छ । मंगलबार सबैभन्दा धेरै रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि कर्णाली विकास बैंकको साढे ७ र मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर ६ प्रतिशतले बढेको छ । आज दुई सय २७ कम्पनीका दुई करोड ३१ लाख कित्ता शेयर १३ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको एक अर्ब एक करोड रुपैयाँको शेयर किनबेच भएको छ ।