विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१२, खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी-८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । मृतक काका-भतिज हुन् ।
विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्र १-०२-०४१ प ६६१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-००१ क ४५७८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
ट्रक चालक इटहरी-२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।
Post Views: 17