धरान, ४ फागुन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले ताला लगाइदिएको छ । प्रतिष्ठानस्थित कल्याण समाजले बुधबार आफ्ना मागहरु पूरा नभएको भन्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाको फाइल अगाडि नबढाइएको, कोरोना उपचारमा संलग्न चिकित्सक नर्स र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको तथा प्रतिष्ठानकै हितमा गरिएका अन्य मागबारे पदाधिकारी चुपचाप बसेकाले तालाबन्दी गरिएको समाजले जनाएको छ ।
समाजका अध्यक्ष डा. विष्णु पोखरेलले भने, ‘हाम्रा माग नयाँ होइनन् । यसअघि पटकपटक ज्ञापनपत्र दिँदै आएका छौं । ती मागबारे सुनुवाइ नभएकाले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।’ प्रतिष्ठानको चिकित्सा कल्याण समाजमा २ सय ७० जना चिकित्सक आबद्ध छन् ।
समाजले यसअघि माघ २३ गते नै प्रतिष्ठानका रेक्टर डा.गुरु खनालको कार्यकक्षमा पनि तालाबन्दी गरेको थियो ।
Post Views: 69