विराटनगर, ९ फागुन । इजरायली वैज्ञानिकहरुले कोरोनाको उपचारका लागि नयाँ विधि तयार पारेका छन् ।
इजरायली वैज्ञानिकहरूले कोभिड–१९ को गम्भीर अवस्थालाई समेत उपचार गर्नेगरी ‘इक्सओ–सीडी २४’विधि तयार पारेका हुन् ।
इजरायली शहर तेल अबिब स्थित सौरस्की (इचिलोभ) मेडिकल सेन्टरका क्यान्सर रोकथाम केन्द्रका निर्देशक प्रा. डा. नादिर आर्बरका अनुसार “साइटोकाइन स्ट्रोमले कोभिड–१९ का बिरामीहरूमा गम्भीर प्रकारको लक्षण निम्त्याउँछ ।
इक्सओ-सीडी २४ विधीबाट उपचार गर्दा यस्तो समस्यालाई निधान गर्न सहज हुने गर्दछ ।”
यो विधिबाट एक्सोजोम्स तत्वलाई नाकबाट स्प्रे मार्फत फोक्सोसम्म औषधीका रुपमा पुर्याउने काम गरिन्छ । प्रा.डा.नादिरले इक्सओ-सीडी २४ विधीबाट हुने उपचार सस्तो, प्रभावकारी र कम जोखिमपूर्ण हुने बताए ।
उनका अनुसार यसको औषधी उत्पादन गर्न समेत सजिलो र कम खर्चिलो छ । कोभिड–१९को संक्रमणका कारण हुने मुख्य जटिलता भनेकै श्वासप्रश्वासको जटिल समस्या ‘एआरडीएस’ हो ।
जुन फोक्सोमा हुने इन्फ्लेमेसन ( फोक्सो सुनिने) कारण हुने गर्दछ ।
इक्सओ–सीडी २४ विधीबाट हुने उपचारले इन्फ्लेमेसनलाई मन्धपार्न र साइटोकाइन स्ट्रोम निको पार्न प्रभावकारी देखिएको प्रा.डा.नादिरले बताए ।
पहिलो चरणमा ३५ गम्भीर बिरामीहरुलाई उक्त उपचार विधि प्रयोग गरिएको र ती बरामीहरू एक हप्ताभन्दा पनि कम समयमा निको भएका प्रा.डा.नादिरले जानकारी दिए ।
विकासोन्मुख देशहरुलाई कोरोना भाइरसका बिरामीहरुलाई उपचार गर्न महँगो र कठिन भइरहेको वर्तमान समयमा इक्सओ–सीडी २४ विधिबाट हुने उपचार सस्तो र प्रभावकारी हुने देखिएको प्रा.डा.नादिरको दावी छ ।
नादिरले उक्त उपचार विधिबाट इबोला र इन्फ्लूयन्जा जस्ता रोगहरुको पनि उपचार गर्न सकिने बताए ।
ब्राजिल लगायत धेरै मुलुकहरुले उक्त उपचार विधिका लागि इजरायललाई अनुरोध गरी सकेतापनि इजरायली वैज्ञानिकहरूले भने नतिजाको थप अध्ययन गर्न र भविष्यमा यो विधिको प्रयोग सुरक्षित छ भनेर प्रमाणित गराउन थप केही समय लाग्ने बताएका छन् ।
Post Views: 112