विराटनगर, १४ फागुन । चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । प्रधानले म्युजिक भिडियोको सुटिङका लागि धरान आएका शाहको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको बताएका छन् ।
प्रधानले उनीविरुद्ध उजुरी दिएपछि शुक्रबार दिउँसो छलफलका लागि पललाई बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । पलले होटल ज्वाई खानामा रहेका बेला ८-१० जनाको टोली नै बोलाएको प्रधानले बताए । तर आफूलाई चिनेकाले उनीहरुले उनीहरु पछि हटेको बताउँदै उनले भने, ‘पलले ८-१० जना केटाहरु बोलाएका रहेछन्, उनीहरुले मलाई चिनेका कारण पछि हटे । साहको निर्देशनमा जोसीले आक्रमण गरे ।’
यता, पलले भने प्रधानले आफूमाथि दुर्व्यवहार गरेको बताएका छन् । आफूहरु म्यूजिक भिडियो छायांकनका लागि धरानमा रहेको बताउँदै खाना खाने क्रममा अरुणले आफू र सहयोगी जोशीमाथि दुर्व्यहार गरेको बताए । ‘उहाँले दुर्व्यवहार गरेपछि कृष्ण र अरुणबीच धकेलाधकेल पनि भएको हो । सामान्य विवाद भएपछि हामी अर्को टेबलमा खाना खान गयौं । होटलका वेटरहरुले मेरो धरानको बेष्ट फ्रेन्डलाई फोन गर्नुभएछ । यसपछि २–३ जना साथीहरु आउनुभयो । उहाँहरुले के भयो भनेर सोध्नुभयो, अनी हामी त्यहाँबाट निस्कियौं । भएको यत्ती मात्र हो ।’
Post Views: 4