विराटनगर, १५ फागुन । विराटनगरका कवि तथा साहित्यकार लक्ष्मण नेवटियाको लघुकथासङ्ग्रह ‘यो जोसँग सम्बन्धित छ’ लोकार्पण भएको छ ।
शनिबार विराटनगरको होटल प्यासेफिकमा लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोधन’, प्राज्ञ विवस पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, गजलकार प्रकट पङ्गेनी ‘शिव’, लोचन रिजाललगायतले नेवटियाको पुस्तक लोकार्पण गरेका हुन् ।
समाजमा भएका विवेद, विसङ्गती र समाजसँग नजिक भएका घटनाहरूलाई ‘यो जोसँग सम्बन्धित छ’ लघुकथासङ्ग्रहमा समावेश गरिएको पुस्तकमाथि चर्चा गर्दै लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रेष्ठले बताए ।
यसैगरी प्रा.डा. कपिल लामिछानेले पुस्तकमाथि चर्चा गर्दै यो जोसँग सम्बन्धित छ पुस्तक हरेक वर्गका व्यक्तिहरूका लागि उपयोगी रहने र समाजमा भएका सबै वर्गहरूका कथा समावेश भएको उल्लेख गरे ।
यस पुस्तकको प्रकाशकसमेत रहेको लघुकथा समाज प्रदेश १ ले उक्त कार्यक्रमको आयोजना गरेको हो । लघुकथा समाज प्रदेश १ कि अध्यक्ष ममता मृदुलको सभापतित्त्वमा सम्पन्न कार्यक्रममा कवि मीनकुमार नवोदिन, शिवनारायण पण्डित ‘सिङ्गल’, कलाकार कृष्ण मर्सानी, रामबाबु दाहाल, मधु पोखरेल, देवी पन्थीलगायतको उपस्थिति थियो ।