विराटनगर । झापामा एक वृद्धाको हत्या भएको छ । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मृतक वृद्धाको नातीसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गौरादह नगरपालिका–७, योगीटारकी ८२ वर्षीया नरमाया विश्वकर्माको हत्या भएको हो ।
फागुन २६ गतेदेखि घरबाट अचानक हराइरहेकी उनको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडि रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते शव फेला परेको थियो । सोपश्चात् सूक्ष्म अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, गौरीगञ्जको प्रहरी टोलीले घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई सोही दिन पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मृतक वृद्धाको नाती १८ वर्षीय धीरज विश्वकर्मा र स्थानीय १८ वर्षीय राजु मल्लिक छन् । गाँजा खाई लट्ठ भएका विकले फागुन २६ गते राति २ बजेको समयमा हजुरआमा शौचालय जान उठेको अवस्थामा फलामको रडले टाउको पछाडि प्रहार गर्दा वृद्धाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
हजुरआमाको मृत्यु भएपश्चात् आफ्नो साथी राजु मल्लिकको समेत सहयोगमा घर नजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, गौरीगञ्जले जनाएको छ ।
Post Views: 41