विराटनगर । विराटनगर–१६ दरैया पश्चिममा रहेको मुसहरबस्तीका बालबालिकालाई शिक्षित बनाउने अभियानमा ७ वर्षदेखि अनवरत रूपमा स्थानिय राजु क्षेत्री लागिरहेका छन् । उनै क्षेत्रीको अभियानलाई थप उचाइमा पुर्याउन पछिल्लो समय विभिन्न संघसंस्थाले शैक्षिक सामग्री लगायत सहयोग गरिरहेका छन् ।
यसै क्रममा सम्झना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगर–६ ले बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बेलाबेलामा विभिन्न संघसंस्थाले बालबालिकाहरूलाई आवश्यक पर्ने शैक्षिक सामग्री, कपडा, खाजा वितरण गर्दै आइरहेका क्षेत्रीले बताए ।
जसका कारण बालबालिकाहरू पढाइमा थप सक्रिय हुनेगरेका उनको भनाई छ । ‘मैले विगत ७ वर्षदेखि बालबालिकालाई साक्षरता तर्फ डोर्याउने प्रयास गरिरहेको छु’, क्षेत्रीले भने, ‘अझै पनि बालबालिकाहरूका लागि प्रयाप्त शैक्षिक सामग्रीको अभाव छ । कपडादेखि लिएर बालबालिकालाई खाजाको पनि अभाव छ ।’
आफ्नो अभियानमा स्थानिय सरकारले समेत सहयोगमा चासो नदेखाएको उनको भनाई छ । उनी आफैँ शारीरिक रूपमा अशक्त छन् । उनी ह्वील चेयर सहारामा आवत–जावत गर्छन ।
उनी थप्छन्, ‘कहिलेकाँही कसैको सहारा लिएर बालबालिका पढाउन पुग्छु भने, कहिले एक्लै पुग्नु पर्ने हुन्छ । सडक समेत खराब भएका कारण धेरै समस्या हुन्छ । तर पनि बालबालिकालाई शिक्षित बनाउनुपर्छ भन्ने अभिप्रायले अभियानलाई निरन्तरता दिइरहेको छु ।’
नियमित २० देखि २५ जना बालबालिका पढ्न आउने गरेको उनले सुनाए ।
Post Views: 6